२०८१ श्रावण १२

लुम्बिनी एक्स्पोमा १० लाख दर्शक, ५० करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८० पुष १८, बुधबार १५:११ गते

बुटवल, १८ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा जारीे लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेला ५० करोडको कारोबार गर्दै सकिएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ यही पुस ५ गतेदेखि १८ गतेसम्म १४ दिनसम्म जारीे एक्स्पोको बुधवार एक विशेष कार्यक्रमकावीच समापन गरिएको छ । मेलामा १० लाख दर्शकले अवलोकन गरेको आयोजकले बताएका छन् ।
प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै आयोजना सफल बनाउन तयारी देखि समापनसम्म प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे । अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा एक्स्पो सम्पन्न गरेको भन्दै उनले एक्स्पोमा संघले राखेको दर्शक र कारोवारको लक्ष्य पुरा भएको बताए । व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले केहि सकारात्मक भूमिका निर्वाह गर्न सफल भएको आफूहरुको विश्वास रहेको उनले बताए ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी र मेला मुल समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरेका थिए । कार्यक्रममा मूल्याङकन समितिका सदस्य मुकुन्द ज्ञवालीले पुरस्कृतहरुको नामावली सार्वजनिक गरेका थिए ।
सम्पूर्ण स्टलहरुमा प्रथम गोल्ड स्टार सुज (उपहार सुज हाउस), द्वितिय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग, तिलोत्तमा भएका छन् ।
त्यसैगरि स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स नेपाल) ले पाएको छ । त्यसैगरि महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रा.लि. पुरस्कृत भएको छ ।
समापन कार्यक्रममा बोल्दै गिरीले बर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउँन एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए । राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दालाई अगाडी बढाउनेतर्फ सबैको ध्यान जानु पर्ने बताउदै उनले व्यापार संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंशा गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानिय सरकारहरुले सधै साथ दिने बताए ।
कार्यक्रममा संघका पदाधिकारीहरु डिल्लीराज भण्डारी, दयानिधि भण्डारी, प्रकाश ढकाल, कृष्णप्रसाद पराजुली, लुम्विनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देवकोटा लगायले आर्थिक क्षेत्रको चर्चा गरेका थिए ।
सोही अवसरमा सहआयोजक, प्रर्बद्धक, सौजन्यकर्ताहरु, सहयोगी संघसंस्था र विभिन्न निकायहरुलाई सम्मान, कदर र प्रशंसापत्र प्रदान गरिएको थियो ।
मेलाको पुष ५ गते नेपाल सरकारका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति र ४५ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरिएको थियो । एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, प्mलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, रेष्टुरेण्टलगायतका विभिन्न प्रकृतिका करिव ६ सय स्टलहरु रहेका थिए । एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, विद्यालयस्तरीय लोकनृत्य, डान्स आइडल, भजन, ¥याप लगायतका प्रतियोगिताहरु आयोजना गरिएका थिए ।
समापनका दिन बुधवार पनि मेला स्थलमा दर्शकहरु अवलोकन गर्न ठूलो संख्यामा आएका थिए । अन्तिम दिन अवलोकनकर्ताहरुले सामान अत्यधिक खरिद गरेको स्टलधनीहरुले जनाएका छन् ।