२०८१ श्रावण १२

बुटवलको पार्किङ व्यवस्थापनका लागि कार्यदल
  • लुम्बिनी खोज
  • २०८० पुष २३, सोमबार १४:२४ गते

 

बुटवल २३ पुस ।
बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको छ । पार्किङको अभावका कारण उपभोक्ताहरू पसलमा आउन समस्या भएको निष्कर्षका साथ संघ पार्किङ ब्यवस्थापनमा अग्रसरता देखाएको हो ।
बुटवलको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ । संघको तीन बर्षे रणनीतिक योजना अन्तर्गत आइतबार संघको सचिवालयमा भएको पार्किङ व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गएिको हो ।
बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका बरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे सह संयोजक रहेको कार्यदलमा बुटवल उपमहानगरपालिकाका, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका वडा नं ६, वडा नं ४ का प्रतिनिधि तथा रूपन्देही व्यापार संघ र रूपन्देही उद्योग व्यापार संगठनका प्रतिनिधि सदस्य रहेको संघका उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।
कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरीप्रसाद अर्यालले पार्किङको समस्याका कारण उपभोक्ताहरू बुटवलका पसलमा आउने क्रम कम हुदै जान थालेकोले संघले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको बताए । पार्किङ ब्यवस्थापनले बुटवल बजारको सौन्दर्यकरण बढ्नुकासाथै बजार थप चलायमान हुने उनको विश्वास छ ।
अन्तरक्रिया कार्यक्रममा बुटवल वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठ, वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका राजश्व शाखाका उपनिर्देशक डोलराज पौडेल, ससस्त्र प्रहरी बेस क्याम्प बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक आश्विन गुरूङ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक ओमप्रकाश वाग्ले, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानिया, बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका महासचिव मुक्ति अधिकारी लगायतले बुटवलमा पार्किङ ब्यवस्थापन जरुरी रहेको भन्दै उपयुुक्त पार्किङ स्थलको खोजि गर्नुपर्नेमा जोड दिएका थिए ।