२०८१ श्रावण १२

व्यापार संघको १२ औं अधिवेशन माघ ५ मा, नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम सुरु
  • लुम्बिनी खोज
  • २०८० पुष २६, बिहीबार १४:१६ गते

 

बुटवल, २६ पुस ।
रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन माघ ५ गते हुने भएको छ । अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरि काम अगाडी बढाएको संघले जनाएको छ ।
संघको अधिवेशनले आगामी २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले संघमा चुनावी तयारी पनि अगाडी बढेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अगाडी बढाउन संघका कानुनी सल्लाहाकार लेखनाथ ढकाल प्रमुख निर्वाचन अधिकृत, प्रेस सल्लाहाकार सुमन अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको छ ।
निर्वाचन समितिले नया नेतृत्व चयनका लागि निर्वाचन कार्य तालिका तय गरि निर्वाचन कार्यक्रम अगाडी बढाएको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए ।
निर्वाचन कार्यक्रम अनुसार मंगलवार र बुधवार मतदाता नामावली प्रकाशन गरि दावी विरोध तथा अन्तिम नामावली प्रकाशनको काम सकिएको संघले जनाएको छ । त्यसैगरि माघ २ गते उम्मेदवारी दर्ता, ३ गते उम्मेदवारीमाथि दावी विरोध तथा मनोनय फिर्ता र ४ गते अन्तिम नामावली प्रकाशन तालिका तय गरिएको छ । संघमा कुल मतदाता संख्या १५ सय ९६ रहेका छन् ।
निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष, सहसचिव र सदस्य २१ जना निर्वाचित हुने छन् । निर्वाचन कार्यक्रम घोषणा भएसंगै नयाँ नेतृत्वका लागि व्यवसायीहरुवीच चुनावी सरगर्मी बढेको छ ।
संघको माघ ५ गते हुने कार्यक्रमको रुपन्देही क्षेत्र नं. १ का सांसद तथा नेकपा एमालेका नेता छवीलाल विश्वकर्मा उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । उद्घाटन सत्रपछि हुने बन्द सत्रमा बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुने संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए ।
व्यापारका अलग–अलग प्रकृति एंव स्तर हुने र राज्यका नीतिहरु पनि फरक–फरक हुनुपर्दछ भन्ने मान्यता राख्दै विशुद्ध रुपमा व्यवसायीहरुमा परेका समस्याहरुको संबोधन गर्न र राज्यको आर्थिक विकासमा हातेमालो गर्ने उद्देश्यले २०५७ साल कार्तिक २८ गते रुपन्देही व्यापार संघको स्थापना भएको हो । संघले आफ्नो. स्थापना कालदेखि नै सांगठनिक संरचनालाई उत्कृष्टता हासिल गर्दै ग्रामीण तथा शहरी क्षेत्रका व्यवसायीहरलाई एउटै छातामा गोलबन्द गरी जिल्लाको विशिष्टतालाई मध्यनजर गर्दै व्यवसायीहरुको संगम स्थल बनाउने कुरामा जोड दिएको छ । संघले ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारालाई आफ्नो मुल ध्येय राखेको छ ।
संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२, २०७५ र २०८० मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला सफलताका साथ सम्पन्न गरि सकेको छ । संघले यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी केन्द्रमा लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेला आयोजना गरेको थियो । १४ दिनसम्म आयोजना गरिएको एक्स्पोको करिव १० लाख दर्शकले अवलोकन गरेका थिए ।