२०८१ श्रावण १२

बुटवलमा पार्किङ स्थानको खोजी र व्यवस्थापनमा जुट्यो कार्यदल
  • लुम्बिनी खोज
  • २०८० माघ ११, बिहीबार १५:१५ गते

बुटवल ११ माघ ।
बुटवलको पार्किङ समस्या व्यवस्थापनको लागि गठित कार्यदलले पार्किङ स्थानको खोजी तथा त्यसको व्यवस्थापनमा जुटेको छ । गठित कार्यदलको बिहिबार बुटवल उद्योग वाणिज्य संघमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरुको पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेर एउटा निश्कर्षमा पुग्नेगरी तयारी गरिएको कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
बुटवलको पार्किङ समस्या समाधानको लागि बुटवल उद्योग वाणिज्य संघको अग्रसरतामा बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्वपक्षिय पार्किङ व्यवस्थापन कार्यदल गठन गरिएको थियो । सोही कार्यदलको बैठकले पार्किङ समस्या समाधानको लागि स्थानको पहिचान गरी ती स्थानलाई व्यवस्थापन मिलाउन प्राविधिक पक्षलाई समेत विश्लेषण गरेर एउटा निश्कर्षमा पुग्ने निर्णय गरिएको कार्यदलका संयोजक समेत रहेका बुटवल ५ का वडा अध्यक्ष श्रेष्ठले बताए।
उनका अनुसार तत्कालको लागि लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गा, लुम्बिनी प्रदेश पमुखको कार्यालयको छेउमा रहेको खाली जग्गा, बुटवल बालमन्दिर लगायतका स्थानलाई पार्किङको रुपमा प्रयोग गर्न सकिन्छ । ती ठाउँलाई कसरी प्रयोग गर्ने, पार्किङको लागि सम्भावित सवारी साधन कति छन्, कति ठाउँ चाहिन्छ जस्ता कुराहरुलाई स्थलगत निरीक्षण गरी प्राविधिकसंग बसेर मसिनोसंग विश्लेषण गरेर अगाडि बढ्ने उनले जानकारी गराए ।
पार्किङ व्यवस्थापनको लागि कार्यदलले सुरुवाती समयमा बजार क्षेत्र वडा नं. ४, ५, ६ र ८ मा पर्ने अमरपथ, संगमपथ, राममन्दिर लाईन, विपि चोक, ट्राफिकचोक तथा अस्पताललाईन (भुड्की चोक) मा पार्किङको वैकल्पिक व्यवस्थापनमा जुटेको हो । यो दीर्घकालिन व्यवस्थापन भने होईन । दीर्घकालिन समस्या समाधानको लागि योजना बनाएर काम गर्नुपर्छ । पार्किङ समस्यालाई दीगो रुपमा समाधान गर्नको लागि सबैभन्दा पहिला व्यवस्थापन योजना निर्माण गर्नुपर्ने बुटवल उपमहानगरपालिकाका ईञ्जिनियर गोविन्द पंगेनी बताउछन् ।
लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गामा कम्प्लेक्स बनाउने योजना छ । त्यस्तै पूर्वपश्चिम महेन्द्र राजमार्गको तिनाउ पुलमा सिग्नेचर ब्रिज बनाउने योजना छ । यी पूर्वाधार निर्माण गर्दा पार्किङ मात्रै नभएर यहाँको ट्राफिक व्यवस्थापन पनि अझै कठिन हुनेछ । ईञ्जिनियर पंगेनीका अनुसार त्यसलाई पनि मध्येनजर गरेर पार्किङ व्यवस्थापनको योजना बनाउनु पर्छ ।
बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार समेत खस्किदैँ गएको र व्यापार व्यवसायलाई लयमा फर्काउनको लागि पार्किङ व्यवस्थापन अतिआवश्यक भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले बताए। उनले पार्किङ समस्या समाधान हुन सकेन भने भोलीका दिनमा बजार नै विस्थापित हुनसक्ने र त्यतिवेला आफ्ना घरका सटरहरु खाली हुने स्थिती आउन नदिनको लागि समयमै गम्भिर हुन त्यस क्षेत्रका घरधनीलाई आग्रह गरे।
बनाईने ट्राफिक व्यवस्थापन योजना स्थानीय सरकारले पनि स्वामित्व ग्रहण गर्ने खालको हुनुपर्छ । जसले गर्दा कार्यान्वयन गर्न सहज हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलकी प्रहरी निरीक्षक शोभा पाण्डे बताउछन् । त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले पार्किङका लागि आउने सवारी साधन, ठूला सवारीलाई बजारमा छिर्न दिने नदिने, रिक्साको सहज व्यवस्थापन सबैकुराको सम्बोधन हुनेगरी योजना बनाउन सकियो भने कार्यान्वयनमा पनि सहज हुने र त्यसले ट्राफिक व्यवस्थापनलाई पनि सहयोग गर्ने बताए ।
कार्यदलका सदस्य समेत रहेका वडा नं.४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, वडा नं. ८ का अध्यक्ष यज्ञ पंगेनीले वडा अध्यक्षले नै नेतृत्व गरेको र कार्यदलको सदस्यमा पनि वडा अध्यक्ष सहित सरोकारवाला रहेकाले कार्यदलले बनाउने योजना कार्यान्वयनमा समस्या नहुने भनाई राखे। कार्यदलमा प्रदेश ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बुटवल, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ लगायतका व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरु सदस्यको रुपमा रहेका छन् ।