२०८१ श्रावण १२

बालबालिका विकास र शान्तीका लागि फागुनमा लुम्विनीमा शिखर सम्मेलन
  • लुम्बिनी खोज
  • २०८० माघ २०, शनिबार १३:०५ गते

बुटवल २० माघ ।
लुम्विनी प्रदेश सरकारको आयोजनामा बालबालिका विकास र शान्तीका लागि लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन फाल्गुनमा लुम्विनीमा हुने भएको छ ।
बालबालिकाको हित दिगो विकास र शान्तीका लागि अन्तराष्ट्रिय प्रतिवद्वता प्रवर्द्वन बालबालिका शान्ती र विकास सम्वद्व साझेदारी वीच समन्वय र सहकारी विकास अन्तराष्ट्रिय स्तरमा लुम्विनी क्षेत्रको पहिचान अभिबृद्वि गर्न लुम्विनी क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्दै लुम्विनीको शान्ती तथा करुणाको संदेश विश्वभर फैलाउने शिखर सम्मेलनको अवधारणा रहेको छ ।
शिखर सम्मेलनमा करिव तीन सय व्यक्तित्वहरुको सहभागिता रहने छ जसमा नेपाल संग दौत्य सम्बन्ध कायम भएका केही मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख वा पुर्व प्रमुख, नोवेल शान्ती तथा अन्य पुरस्कार विजेता लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलनका अन्तराष्ट्रिय सचिवालयका स्टेरीङ समितिका पदाधिकारीहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख वा प्रतिनिधि, विश्व व्यापी व्यवसायिक नेताहरु, विश्व व्यापी निर्णय निर्माता, विपन्नताबाट माथि उठेका अनुभवी युवा, युवा नेताहरु, नेपाल र अन्तराष्ट्रिय सचिवालयले संयुक्त छनौट गरेका व्यक्तित्वहरुको सहभागिता रहने छ ।
शिखर सम्मेलन तयारीका क्रममा शनिबार भएको एक छलफलमा सहभागि भएका नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार लुम्विनीका बालबालिकाहरुका बृहत्तर हितका लागि उच्च शिक्षा अध्ययन र वाल क्लवका विद्यार्थीहरुलाई पनि सहभागिता गराइने छ । उक्त शिखर सम्मेलनका मुख्य अवयवहरुमा कार्यक्रम सत्र, लुम्विनीबाट शान्ती तथा करुणाको संदेश, वालकला प्रदर्शन, लुम्विनीका उत्पादन प्रदर्शनी र साझेदार बैठक रहने छ ।
उक्त शिखर सम्मेलनलाई प्रभावकारी गराउनको लागि कार्यान्वयन संयन्त्रको रुपमा नेपाल सरकार, निर्देशक समिति सहजीकरण उप समिति, मुख्य सचिवालय, नेपाल पर्यटन वोर्ड, लुम्विनी विकास कोष, सुरक्षा निकाय, प्रदेश पर्यटन मन्त्रालय, पर्यटन डिभिजन, पर्यटन विकास परिषद, प्रदेश योजना आयोग, स्वास्थ्य मन्त्रालय स्थानीय तह, निजी क्षेत्र र अन्य रहेका छन् ।
फाल्गुन २७,२८ र २९ गते तीन दिनसम्म संचालन हुने शिखर सम्मेलनमा एक सय पचास प्रकारका खाना, दुई सय पचास वटा बालबालिकाद्वारा निर्माण गरिएका चित्रहरु रहने छन ।
उक्त शिखर सम्मेलनलाई प्रभावकारी, दिगो र सफल बनाउनको लागि सामाजिक विकास मन्त्रालय लुम्बिनीका निमित्त सचिव थानेश्वर ज्ञवालीको नेतृत्वमा शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख हरिलाल अर्याल, सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरि बहादुर विष्ट, नेपालमा सबै भन्दा बढी विद्यार्थी संख्या भएको कालिका मानवज्ञान मा.वि.का प्रधानाध्यापक दिनेश थापा, नेपालमै दोस्रो विद्यार्थी संख्या भएको विद्यालय शान्ति नमुना मा.वि.मणिग्रामका प्रधानाध्यापक कुल प्रसाद लामिछाने, नेपालमा चौथो विद्यार्थी संख्या भएको विद्यालय कान्ति मा.वि.का प्रधानाध्यापक गोबिन्द ज्ञवाली, नेपालमै पाँचौ विद्यार्थी संख्या भएको विद्यालय नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, जनता मा.वि. पिपरा कपिलवस्तुका प्रधानाध्यापक रमेश पन्थी, युनिसेफका माधव बराल, महिला विकास शाखा अधिकृत कमला पोखरेललगायत संग पहिलो चरणमा छलफल तथा समन्वय गरिएको छ ।