२०८१ श्रावण १२

देउखुरी दौडमा कार्कि र चौधरीलाई उपाधि
  • लुम्बिनी खोज
  • २०८० माघ २१, आईतवार १२:०९ गते

सुमन अधिकारी
देउखुरी(दाङ), २१ माघ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतवार लुम्बिनी प्रदेश खेलकुद परिषदले देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न गरेको छ । प्रदेश राजधानी देउखुरीमा आयोजित ५ किलोमिटर दौड प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक समारोहकावीच गरेका थिए ।
पहिलो पटक आयोजित दौड प्रतियोगिताको पुरुषतर्फको उपाधि आर्मीका टंक कार्कीले र महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले हात पारेका छन । प्रतियोगितामा ३ सय वढी राष्ट्रिय तथा स्थानिय धावकहरु सहभागी भएका थिए । प्रतियोगिता प्रदेशसभा भवनबाट सुरु भएको थियो ।
प्रतियोगिताका पुरुषतर्फका विजेता कार्किले १५.२७.०६ सेकेन्डमा दौड पूरा गरेका हुन भने नागेश्वर अहिरले १५.२९.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भएका छन् । यसैगरी मिलन कार्कीले १५.३३.०९ सेकेन्डमा दौड पूरा गरी तेस्रो, सन्जय सिंह १५.४६.०३ सेकेन्डमा दूरी पार गर्दै चौथो, सन्तोष अहिर १५.५७.०७ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । प्रतियोगितामा मोहनदेव जोशी, प्रेम बस्नेत, सुमन बुढा, अजय पाण्डे, बिकास बिक, विवश बुढा क्रमशः दशौ स्थानमा रहेका थिए ।
यसैगरी महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले हात पारिन । उनले सो दुरी १९.३९.०४ सेकेन्डमा पूरा गरिन् । नेपाल पुलिसकी सुमित्रा चौधरीले २०.०१.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन् भने कमला ओलीले २०.२८.०६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भईन् । मोतिकला डाँगीले २१.१२.०७ सेकेन्डमा दुरी पार गर्दै चौथो तथा निर्मला चौधरीले २१.१७.०९ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । यसैगरी प्रतियोगितामा क्रमशः अरुणिका चौधरी, अनिशा चौधरी, आयुषा गिरी, प्रियङ्का साउद, उमा चौधरी दशौ स्थानसम्म हासिल गरिन् ।
विजेताहरुलाई लुम्बिनी प्रदेश परिसारमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पुरुष र महिला दुबै विधामा प्रथम हुने खेलाडीले नगद २१ हजार, दोस्रोले नगद १७ हजार, तेस्रोले नगद १३ हजार, चौथोले नगद ९ हजार, पाँचौ ५ हजार, छैठौ स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो ।
विजेता, उपविजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गृहमन्त्री सन्तोष पाण्डेय, प्रदेश सरकारका प्रमुख सचिव राधिका आर्याल तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री चौधरीले खेलकुदको विकासका लागि प्रदेश सरकारले नितिगत रुपमा प्राथमकितामा राखेको बताउदै खेलाडीलाई खेलेर बाच्न सकिन्छ भन्ने भावनाको विकास गर्नु पर्नेमा जोड दिए ।
प्रदेश गृहमन्त्री सन्तोष पाण्डेले युवाहरुलाई खेलमा आकर्षित गराउन प्रदेश सरकारले प्रोत्साहानका कामहरु अगाडी बढाएको बताउदै त्यसमा सबैको सहयोग जरुरी रहेको बताए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले खेलकुद क्षेत्र वृहत र राष्ट्रको पहिचान गराउने क्षेत्र भएका कारण त्यसलाई प्रदेशले प्राथमिकतामा राखेको बताउदै पछिल्ला दिनमा लुम्विनी प्रदेशमा खेलको स्तरबृद्धि भएको बताए ।