२०८१ श्रावण १२

देश बदल्ने योजना बनाउन जरुरीः एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल
  • लुम्बिनी खोज
  • २०८० माघ २२, सोमबार १४:४७ गते

बुटवल २२ माघ ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवै तहको पार्टी नेतृत्वले आर्थिक सामाजिक रुपमा देश बदल्ने योजना बनाउन जरुरी रहेको बताएका छन् । उनले वैठक, सम्मेलन, कार्यविभाजन र भाषण गरेर मात्र अब नहुने भन्दै जनतालाई छुने विषयमा कार्यसूचि बनाएर हिड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले रुपन्देहीको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले   समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुने चुनौतिपूर्ण काममा पार्टी कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह पनि गरे ।
पार्टीलाई विधि, पद्धतिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतिपूर्ण रहेको तर्फ कार्यकर्ताको ध्यान आकृष्ट गर्दै बिधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई ध्यानपूर्वक अख्तियार गर्न उपाध्याक्ष पौडेलले आग्रह गरे ।
रुपन्देही पार्टीका लागि चुनौतिपूर्ण र अपरिहार्य कार्यसूचि भित्र सुकुम्वासी र अब्यवस्थित बसोवासीको समस्या समाधान पहिलो नम्वरमा रहेकोले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न  उनले निर्देशन पनि दिए ।
प्रशिक्षणमुलक मन्तब्यमा उपाध्यक्ष पौडेलले भने,– शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हामीले के गर्न सक्छौं ? यसवारेमा सरकार बाहिर छँदा पनि योजना बनाउन आवश्यक रहेकोले वैकल्पिक कार्यक्रम बनाउनुप¥यो ।
प्रशिक्षण कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउन सुझाव दिदै उपाध्यक्ष पौडेलले सर्वाधिक महत्वपूर्ण कार्यक्रममा अनुपस्थित हुनेलाई जिल्ला कमिटीले यथोचित स्पष्टीकरण लिने काम गर्न सुझाव पनि दिए  । जीवन र जगतको परिभाषा जान्न तथा परिवर्तनको नियम बुझ्न पनि माक्र्सवादी दृष्टिकोणको अध्ययन जरुरी रहेकोले पुस्तक र समाज दुवै पढ्नका लागि पौडेलले आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा कार्यभार बिषयमा प्रमुख प्रशिक्षक पार्टी उपमहासचिव, केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश पार्टी स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन प्रस्तुति सीप शैली र कला, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग लगायतमा प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ  ।जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा स्वागत स्कुल विभाग प्रमुख युवराज घिमिरेले, सञ्चालन यज्ञ गैरेले गरेका थिए ।