२०८१ श्रावण १२

शान्तिको हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई
  • लुम्बिनी खोज
  • २०८० माघ २८, आईतवार १३:४६ गते

तिलोत्तमा,२८ माघ ।
रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । रुपन्देही जिल्लाका २८ वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले नगद रु.१२ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय भई ग्रिन प्लान्ट बोर्डिङ स्कुलले नगद रु.९ हजार, तृतीय भई सुनगाभा बोर्डिङ स्कुलले नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त न्यू होराइजन बोर्डिङ स्कुलले नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल प्राप्त गरेको प्रतियोगिताका संयोजक मोहन पौडेलले जानकारी दिए ।
यसअघि उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यार्थीको सृजनशिलता बढाउन यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जिल्लाभरका विद्यालयहरुबीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भन्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रम गरिने बताए । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्का र रजनी के.सी.ले गरेका थिए ।
त्यस्तै आइतबार खाना महोत्सव समेत आयोजना गरिएको थियो । कक्षा आठ , नौ , एघार , बाह्र र डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूको सहभागितामा खाना महोत्सवको आयोजना गरिएको हो । विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आफै गरेर खानाका विभिन्न परिकार बनाएको कार्यक्रम संयोजक पिंकी शर्माले जानकारी दिइन । विद्यार्थीहरूले पास्ता , मम , फुल्की , चटपट , सेलरोटी , चुकौनी, अचार , ढिकरी , मन्चुरियन , पकौडा लगायतका परिकार बनाएका थिए । खाना महोत्सवमा २३ वटा स्टल राखेर परिकारको व्यवस्थापन गरिएको थियो ।
यसैबीच ६५ औं वार्षिकोत्सवका अवसरमा सोमबार विद्यालयमा रक्तदान, पढाई महोत्सव, पुरस्कार वितरण कार्यक्रम गरिने भएको छ ।
वार्षिकोत्सवको मुल कार्यक्रम भने फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति , पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन, हालै बनेको भवनको उद्घाटन, ३६ कोठे भवनको शिलान्यास तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिए ।