२०८१ श्रावण १२

डिडिसीमा भ्रष्टाचार गरेको भन्दै डीडीसीका महाप्रबन्धक झालाई मोसो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ४, शुक्रबार ०९:३७ गते

काठमाडौं ४ फागुन।
दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठनले मोसो दलेको छ। सो संगठनका युवाको एक समूहले शुक्रबार कार्यकक्षमै गएर झालाई मोसो दलेको हो।
शुक्रबार बिहान उनीहरु डीडीसीका महाप्रबन्धक झामाथि जाइलागेका छन् । सो क्रममा हात हालाहाल भएको थियो । त्यसपछि क्रान्तिकारी युवा संगठन जिन्दावाद भन्दै उनीहरु त्यहाँबाट भागेका थिए ।
झाले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको, कर्मचारीको सरुवा–बढुवामा आर्थिक लाभ लिने गरेको, किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याएको संगठनको आरोप छ।