२०८१ श्रावण १२

प्रहरीद्धारा सुप्रिम सहकारी ठगीका पीडितहरूसग उजुरी दिन सूचना
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ९, बुधबार १०:३० गते

बुटवल ।
बचतकर्ताको करिब सवा अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेपछि प्रहरीले पीडितहरूसँग थप उजुरी माग गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले आइतबार सूचना जारी गर्दै सहकारीमा जम्मा गरेको रकम हिनामिना अपचलन गरी ठगी गरेको सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै उजुरी माग गरेको हो ।

सूचनामा सेयरधनी तथा बचतकर्ता पीडित व्यक्तिहरूले आफ्नो प्रमाणसहित उजुरी दिन भनिएको छ । पासबुक, सेयरको प्रमाणपत्र, नागरिकता, बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिका साथ जाहेरी दरखास्त, उजुरी निवेदनसहित कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न इप्रकाले अनुरोध गरेको छ । २० दिनभित्रै उजुरी दिएमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन सहज हुने जनाएको छ ।
बचतकर्ताहरूको जम्मा गरेको रकम हिनामिना गरेको भनी उजुरी गरेपछि प्रहरीले केही दिनअघि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेलाई पक्राउ गरेको थियो । गुरुङलाई बिहीबार र भैरहवा शाखा व्यवस्थापक पाण्डेलाई शुक्रबार पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई रूपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इप्रका बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बचतकर्ताहरूको उजुरीका साथै सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीमा औपचारिक रूपमा ३९ जनाको उजुरी परेको छ । उजुरीमा उनीहरूको मात्रै करिब १० करोड ५० लाख बचत रहेको उल्लेख छ ।
यता सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशका रजिस्ट्रार यमबहादुर कुँवरले सुप्रिमबारे चार सय ५८ जनाको उजुरी परेको बताए । कार्यालयमा परेका उजुरीका सम्बन्धमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी तथा प्रशासनमा पठाइएको उनले बताए ।