२०८१ श्रावण १२

संसदमा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १०, बिहीबार ०८:२९ गते

काठमाडौं १० फागुन ।
संसदलाई सांसदहरुले महत्व नदिदा गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक बिहिवार स्थगित भएको छ ।
संसद बैठकमा सभामुख देवराज घिमिरेले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धी विधेयक’माथिको विरोधको सूचना राख्न दिए । विरोधको सूचना फिर्ता लिनका लागि समय दिए । तर, सुवालले विरोधको सूचना फिर्ता लिएनन् । उनले फिर्ता नलिएपछि सभामा पेश गर्न लागिएको विधेयक गणपूरक सङ्ख्या नपुगेपछि प्रस्तुत हुन सकेन ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा जम्मा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।