२०८१ श्रावण १२

बुटवल उवासंघको स्थापना दिवसमा सैंजूलाई सम्मान
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ११, शुक्रबार १३:०९ गते

बुटवल ११ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको स्थापना दिवसमा पूर्वअध्यक्ष अर्जुनमान सैजूलाई सम्मान गरिएको छ । यस क्षेत्रकै सबैभदा पुरानो निजी क्षेत्रको छाता संस्था बुटवल उद्योग वाणिज्य संघको ७१ औं स्थापना दिवसको अवसरमा पूर्वअध्यक्ष सैजूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष सैंजूलाई नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र संघका अध्यक्ष हरिप्रसाद अर्यालले माला तथा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । संघले प्रत्येक स्थापना दिवसमा पूर्वअध्यक्षहरुमध्येबाट एक जनालाई सम्मान गर्दै आएको छ ।
बुटवल उद्योग वाणिज्य संघ बि.सं. २००९ सालमा तदर्थ समिति हुँदै बि.सं.२०१० सालमा औपचारिक रुपमा दर्ता भएको थियो । ७१ वर्षको लामो इतिहास बनाएको संघको संस्थागत विकास, यस क्षेत्रको व्यवसायिक तथा उद्यमशिलता विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संघको स्थापना दिवसमा सम्मान गरिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । २०५७ देखि ०५९ सम्म संघको अध्यक्ष रहेका सैजूले संघको भवन रहेको बुटवल ६ सुन्दरनगरको जग्गा प्राप्ती गरेका थिए । उनी संघमा कार्यसमिति सदस्य, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, हुँदै अध्यक्ष भएका थिए । संघको संस्थागत विकासमा सक्रिय भूमिका रहेको ठहरसहित सम्मान गरिएको संघले जनाएको छ ।
संघको स्थापना दिवसकै अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. ६ मै रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई झोला प्रदान गरिएको छ । संघले बुटवल ब्वाईजको सहयोगमा ७८ थान झोला विद्यालयलाई प्रदान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल र नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवालीलाई झोला हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष शर्माले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघको ठूलो योगदान रहेको बताउँदै अग्रजले गरेको योगदानलाई सम्झेर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
पूर्वअध्यक्ष सैजूले आफूलाई सम्मान गरेकामा संघप्रति आभार व्यक्त गर्दै नेतृत्वमा आउने व्यक्तिले समस्याको पहिचान र त्यसको व्यवस्थापनको पनि नेतृत्व गर्दै अगाडी बढ्नुपर्ने बताए । संघले अगाडि सारेका कार्यक्रममा आफूपनि सधै संगै रहने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रममा देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी, बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, संघका पूर्व उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, तिलोत्तमा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारीलगायतले उवासंघले खेलेको भुमिकाका बारेमा चर्चा गरेका थिए ।