२०८१ कार्तिक ८

शाइन रेसुंगा बैंक १६ औं वर्षमा प्रवेश, शाइन आर्थिक पत्रकारिता पुरस्कार प्रदान, उत्कृष्ट शाखा सम्मान
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ११, शुक्रबार १३:१५ गते

 

बुटवल ११ फागुन ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश गरेको छ । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक विभिन्न स्थानमा रहेका बैंकहरुसग मर्ज भई राष्ट्रियस्तरको विकास बैंक बन्न सफल शाइन रेसुंगा बैंकको ८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी रहेको छ ।
बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा रहेको अध्यक्ष थानेश्वर पौडेलले बताएका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले पांच वटा विकास बैंकहरु मर्ज भएर शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको र हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको बताए ।
शुक्रवार आयोजित समारोहमा बैंकले उत्कृष्ट ग्रामीण शाखाका रुपमा अर्घाखांचीको खनदह शाखा र उत्कृष्ट शहरी शाखाका रुपमा नयां बानेश्वर शाखालाई पुरस्कृत गरेको छ । सो अवसरमा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्रमा योगदान गरेको बताए ।
ग्रामीण क्षेत्रका विद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल स्कुल प्रोग्राम अन्तर्गत सरकारी विद्यालयहरुमा डिजिटल उपकरणहरु प्रदान गरिएकोे अध्यक्ष पौडेलले बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रममा पत्रकार घनश्याम गौतम र भुवन कार्कीलाई प्रदान गरिएको छ । उनीहरुलार्ई जनही २५ हजार रुपैयां नगद राशीसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, पुरस्कृत पत्रकारहरुले बैंक तथा पत्रकारिता क्षेत्रको बारेमा चर्चा गरेका थिए ।
यस बैंकका ६ लाख ८० हजार भन्दा बढी ग्राहक संख्या रहेको र बैंकले ९७४ जनालाई रोजगारी दिएको छ ।