२०८१ चैत्र ३
बुटवल १२ फागुन ।
लुम्बिनी प्रदेशमा कृषि क्षेत्रको राम्रो संभावना भएकाले किसानलाई उत्साहित भएर का मगर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । बुटवलमा जारी कृषि मेलामा कृषिसग सम्वन्धित विभिन्न अन्तरक्रियामा सहभागि सरोकारवालाहरुले लुम्बिनी प्रदेशबाट कृषिमा राम्रो योगदान रहेको भन्दै अझै बढी योगदान दिन किसानका हितमा काम हुनुपर्नेमा जोड दिए ।
यहाबाट दुध तथा माछामासुमा राम्रो योगदान रहेको भन्दै सबै किसिमका उत्पादन वृद्धि गर्न किसानले भोग्नु परेका समस्या हल गर्नुपर्ने सरोकारवालाहरुले बताए । उत्पादन वृद्धि गर्दै बजारीकरणलाई ब्यवस्थीत गर्नुपर्ने साथै विमा क्षेत्रका समस्या हल गर्नुपर्नेमा सहभागिले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पशुपालक तथा कृषि कर्म गर्ने किसान सबै क्षेत्रबाट मारमा परेको भन्दै किसानलाई उत्साहित भएर काम गर्ने वातावरण बनाउनुपर्ने बताए । किसानलाई कृषि कर्म गर्न उत्साहित नबनाउँदा सम्म कृषि क्षेत्रको विकास हुन नसक्ने र आयात अझै बढेर जाने उनले बताए । किसानले गरेको उत्पादन बेचविखनको लागि राम्रो बजार छैन, बेचविखन गरेको बस्तुको उद्योगले समयमै भुक्तानी दिँदैनन, क्षती हुदा विमा कम्पनीले दावी भुक्तानी गर्दैन भन्दै उनले देशमा कृषिको प्रवद्र्धन गर्न यस्ता विषयमा सुधार गर्नुपर्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको अवसरमा लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले पशुपन्छी सञ्जालसंग गरेको गोष्ठिमा निर्देशनालयका निर्देशक डा. प्रवेशसिंह कुँवरले कृषि तथा पशुपालनको क्षेत्रमा यो भन्दा अझै धेरै योगदान गर्न सकिने अवस्था रहेको बताएका थिए । उनले दुध तथा माछा मासुको उत्पादन बढाउनको लागि निर्देशनालय प्राथमिकता दिएर काम गरेको समेत बताए ।
अर्का कार्यपत्र प्रस्तोता नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्णबहादुर थापाले विमाका बारेमा जानाकारी गराएका थिए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख परवेज आलमले मासुको प्रयोग तथा रोगका बारेमा जानाकारी गराएका थिए ।
कृषि मेलाको अवसरमा शुक्रबार मेलास्थलमा प्राङ्गारिक खेती हालसम्मको प्रयास, उपलब्धी र अवको बाटो तथा जीवनासक विषादी प्रयोग प्रभाव र विकल्प विषयमा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम गरिएको संघका कार्यसमिति सदस्य तथा तालिम गोष्ठि समितिका संयोजक निर्मित कसजूले जानकारी गराए । उनका अनुसार आइतबार कृषि बस्तुको बजारीकरणको विषयमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।
यहि फागुनको १० गतेदेखि शुरु भएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला १४ गतेसम्म सञ्चालन गरिने छ । मेलामा माटो परीक्षण तथा बाली परीक्षण शिविर पनि सञ्चालन गरिएको छ । त्यस्तै शनिबार नै कृषिमा आधारित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
नेहारिका प्रथम
राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आयोजना गरिएको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट बोर्डिङकी नेहारिका ज्ञवाली प्रथम भएकी छन् । त्यस्तै द्वितीय कान्ति माध्यमिक विद्यालयकी अनुसा ज्ञवाली, तृतीय ग्लोरी बोर्डिङकी सृष्टि भण्डारी र कालिका माध्यमिक विद्यालयका दिपेश भट्टराई सान्त्वना भएको निर्णायक समितिले जानकारी गराएको छ ।
प्रतियोगितामा प्रमथलाई ५ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई २ हजार नगद पुरस्कार सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको संघकी कार्यसमिति सदस्य तथा वक्तृत्वकला प्रतियोगिताकी संयोजक जमुना पौडेलले जानकारी गराइन । उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा र संघका अध्यक्ष हरिप्रसाद अर्यालले पुरस्कार प्रदान गरेका थिए ।