२०८१ श्रावण १२

प्राङ्गारिक कृषि उत्पादन बढाउनु पर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १३, आईतवार १४:०७ गते

बुटवल १३ फागुन ।
प्राङ्गारिक कृषि उपजको माग बढ्दै गएकोले त्यसको उत्पादन पनि बढाउनु पर्नेमा जोड दिईएको छ । बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आइतबार गरिएको कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयमा विश्वसंगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि बस्तुको माग बढ्दै गएको भन्दै उत्पादन वृद्धिमा जोड दिइएको हो ।
अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि बस्तुको बजार बढ्दै गएको भन्दै किसानले प्राङ्गारिक उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।
प्राङ्गारिकको माग बढ्दै जाँदा त्यसबाट किसानले लाभ लिन सक्ने भन्दै उनले प्राङ्गारिक उत्पादनले लागत पनि घटाउने र मलखाद नपाउने समस्या पनि नरहने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले पछिल्लो समय अर्गानिक बस्तुको बजार बढेकाले किसानलाई अर्गानिक उत्पादनमा प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
संघका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले अन्तरक्रियामा उठेका कुराहरुलाई लिपिवद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित तहमा पहल र पैरवी गरिने बताए । उनले कृषिलाई प्रवद्र्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान हुने र कृषिमा लगानी तथा युवा आकर्षण गरी उद्यमशिलतासंगै रोजगारीको सिर्जना पनि हुने भएकाले कृषिको प्रवद्र्धनको लागि संघले पहल गर्दै आएको बताए ।
कार्यक्रममा संघका कृषि परामर्शदाता डा. प्रदिप शर्मा पौडेल, हेफर इन्टरनेशनलका एशोसियट डाईरेक्टर डा. राम अधिकारी, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराईलगायतले नागरिको स्वास्थ्यको दृष्टिकोणले अस्पतालमा भन्दा पनि स्वस्थ्यकर खाद्य बस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए । मानिसमा हुने अधिकांश सर्ने तथा नसर्ने रोग अस्वस्थ्यकर खानाको कारणले हुने र स्वस्थ्यकर खाना उपलब्ध हुन सक्यो भने रोग पनि नलाग्ने भएकाले स्वस्थ खाद्य बस्तु उत्पादनमा जोड दिनुपर्ने उनीहरुले बताए ।
मेलामा दुधपान प्रतियोगिता सम्पन्नराष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आयोजना गरिएको दुग्धपान प्रतियोगितामा अरविन्द्र लिगल प्रथम भएका छन् । मेलामा आईतबार गरिएको प्रतियोगितामा २७ जनालाई पछि पार्दै लिगल प्रथम भए । २८ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा नारायण गैरे द्वितीय भए भने जमुना पौडेल तृतीय भइन् ।
प्रतियोगितामा विजयी प्रतियोगिलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पुरस्कार वितरण गरिन् । त्यस अवसरमा बोल्दै उनले यस्ता प्रतियोगिताले दुधको उपभोगलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहेको थियो ।