२०८१ आश्विन ४

आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने तयारी
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १६, बुधबार १३:०१ गते

बुटवल १६ साउन ।
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी थालिएको छ।
इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो।
जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले निर्णय गरिसकेका छन्। २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेशनलको सभाले अनुमोदन गरेपछि बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज बन्ने प्रक्रिया शुरु हुनेछ।
आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरु सुगानामीको उपस्थितिमा बुधबार बसेको बैठकले बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
जसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाइएको छ।
जसको सदस्यमा आम्दा इन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विनोद पराजुली सदस्य सचिव रहेका छन्।
आम्दा इन्टरनेशनलको सहकार्यमा स्तरोन्नति भइरहेको अस्पताललाई थप व्यवस्थित गर्दै जनशक्ति उत्पादन र उपचारलाई सँगै अगाडि बढाउन मेडिकल कलेजका रुपमा अगाडि बढाउन लागिएको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए।
उनले आम्दा अस्पताललाई यस क्षेत्रकै सुविधासम्पन्न अस्पताल र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कलेजका रुपमा स्थापित गर्ने योजनाअनुसार काम भइरहेको बताए। उनले सोहीअनुसार अस्पताललाई मेडिकल कलेजका रुपमा स्तरोन्नति गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने र बाँकी प्रक्रियाहरु पूरा गर्दै जाने गरी तयारी भएको बताए। उनले कार्यदलले अध्ययन गरी सबै विषयहरु अन्तरराष्ट्रिय सभामा पेश गर्ने बताए।
पाण्डेयले बुटवलका लागि सुनौलो अवसर भएको बताउदै यस कार्यलाई सम्पन्न गर्न सबै बुटवलबासीलाई सहयोगको अपिल समेत गरेका छन्।
आम्दा इन्टरनेशनलका अध्यक्ष डाक्टर सुगेरु सुगानामीले बुटवलमा मेडिकल कलेज स्थापना गर्न पाउनु आम्दाका लागि गौरवको कुरा हुने बताए। उनले चारवटै साझेदार संस्थाहरुको सहकार्यमा आम्दाले बुटवलमा स्वास्थ्य जस्तो पवित्र क्षेत्रमा काम गर्न सकिरहेको स्मरण गर्दै सबैको साथ जरुरी रहेको बताए।
यस्तै सदस्य संस्था बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले हाल सम्म आम्दा अस्पतालको विकासका लागि सहयोग गर्दै आएको बताउदै आम्दा इन्टरनेशनल मेडिकल कलेज निर्माणणका लागि संघको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
यस्तै बुधबार नै आम्दा इन्टरनेशनलका अध्यक्ष डाक्टर सुगेरु सुगानामीले आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवाप्रवाहबारे अनुगमन गरेका छन्। आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, आम्दा जापानका कार्यक्रम निर्देशक अर्चना जोशी र आम्दा नेपालका परियोजना निर्देशक सुरेश रेग्मी सहितको टोलीले अस्पतालको सेवाबारे अनुगमन गरेको हो। अनुगमनका क्रममा डाक्टर सुगेरुले अस्पतालले सेवा प्रदान गर्दै आएको प्रत्येक वार्डका इन्चार्ज, डाक्टर, नर्स र सेवाग्राहीसंग समेत प्रतिक्रिया लिएका थिए।
अनुगमनका क्रममा आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विनोद पराजुलीले अस्पतालको सेवा र अवस्थाबारे जानकारी गराएका थिए। सो क्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्षहरु जीवन वझा, उज्ज्वल कसजु र अस्पतालका कर्मचारी समेको उपस्थिति रहेको थियो ।
डा सुगानामीले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिस्टेन्ट, नर्सिङ्ग र फार्मेसी डिप्लोमा अध्ययनरत विद्यार्थीहरुसंग कुराकानी गर्दै शैक्षिक एवं भौतिक अवस्थाबारे कुराकानी गरी अध्ययनलाई प्रभावकारी रुपमा लिदै राम्रो स्वास्थ्यकर्मी बन्न आग्रह गरे।
यस्तै आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बुटवल उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख स्वर्गीय सूर्य प्रसाद प्रधानको सम्झनामा आम्दा अस्पताल परिसरको प्रशासकीय भवनलाई सूर्य प्रसाद प्रधान स्मृति प्रशासकीय भवन नामाकरण गर्ने निर्णय गरिएको आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विनोद पराजुलीले जानकारी दिए।
१ सय सैयामा रहेको अस्पताललाई गतवर्षको जेठमा ३ सय बेडमा स्तरोन्नतिका लागि आम्दा इन्टरनेशनलसँग समझदारी भइ भवन निर्माण भइरहेका छन्। आम्दा अस्पतालमा गतवर्षदेखि नर्सिङ, एचए र फार्मेसी बिषयमा डिप्लोमा तहको अधययन सुरु भएको छ।
२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो। ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल १ सय शय्या छन्।