२०८१ पुष १५
छन्दः शिखरिणी
पितामाता हाम्रा सकल टुहुरा देख्छु किन हो?।
भरिन्छन् आँखा यी प्रणयवहले थिच्दछ गलो ।।
झोला भिर्दै जान्छौँ धुरुधुरु रुवाइकन पनि ।
पखालिन्नन् आँसु जतिजति पखाले पनि तिनी ।।१।।
आमाले भन्नुन्थ्यो सपूत सुत हे फर्क घरमा ।
यतै सानो केही इलम गर आफ्नो मुलुकमा ।।
भयौ अल्छी धेरै परमुलुकको आश गरिदा ।
खुसी हुन्थौँ होला परिश्रम यहीँ गर्न पाउँदा ।।२
छोराछोरी भन्दै दिनदिन बगाई श्रम जल ।
म देख्दी हूँ ता ती सुखसयलका भव्य महल ।।
पिलाईद्यौ पानी एकल निमुखाको मुखभरी ।
भए तिम्रै प्यारा मनुज रचना यो सब हरि ।।३।।
विदेशी हुन् छोरा टुलुटुलु कठै! हेर नबस ।
सुमार्गै पैलाई समय गतिको मंगलमय ।।
समस्या ऐलेको सकल जनको भौतिक भयो ।
हरे कृष्ण काले युग विवसता सम्झिन परो ।।४।।
बुबाआमा छोडौँ दिन पनि भयो बस्नु अबता ।
तिम्रै लागी आश्रम् हर तबरले स्वर्ग सरिका ।।
त्यहीँ भुल्छन् बृद्धा मन खुसि बनाएर तनमा ।
तपस्या गर्ने हो सकल हरिकृष्ण भजनमा ।।५।।
छ तिम्रो वाणीमा मन विजय गर्ने मृदुरस ।
सुमार्गै हो हाम्रो समय गतिको मौन नबस ।।
पितामाताजीको अतीतसमय पल्टिन गयो ।
सौभाग्य हो भन्दै सकलजनको आश्रम भयो ।।६।।
सत्मार्गै पैलाई जप तप गरी पुण्य गरनु ।
मिठा भाषाशैली हरिभजनमा लागि परनु ।।
विधाताको प्यारो मनुज परमार्थी छ बननु ।
महाज्ञानी शास्त्री सब मिलिजुली ध्यान गरनु ।।७।।
🙏🙏🙏 इति🙏🙏🙏
स्रष्टाः डिल्लीराज बेल्बासे
पाणिनि ५ मैदान
अर्घाखाँची
शिक्षक, लक्ष्मी मा वि बन्दिपोखरा पाल्पा