२०८१ पुष ११

नवीनमा अध्ययन गर्ने कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २९, शनिबार १४:३३ गते

बुटवल २९ भदौ ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ मा नव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रम बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा वोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदमा बढी प्राथमिकता दिँदै आएको बताए । उनले ५१ प्रतिशत भौतिक पूर्वाधारमा लगानी गरेको र बुटवल उपमहानगरपालिकाले यसै शैक्षिक सत्र देखि ५ जना फुटबल खेलाडी आवासीय रुपमा छनोट गरेर नवीन औद्योगिकमा निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको धारणा व्यक्त गर्दै गुणस्तरीय शिक्षा सीप र संस्कृति सहितको शिक्षा प्रदान गर्ने बुटवल उपमहानगरपालिकाको उद्देश्य रहेकोमा जोड दिए ।
बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले विद्यालयको कुशल प्रशासन, योग्य शिक्षक र राम्रो भौतिक पूर्वाधार भएकोले विद्यार्थीहरूमा शैक्षिक गुणस्तरमा लगनशील भएर अध्ययनमा लाग्न आग्रह गरे। बुटवल उपमहानगरपालिका शिक्षा, युवा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप शाखा प्रमुख सहायक निर्देशक कोपिला ज्ञवालीले देशको एक अब्बल विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरेकोमा बधाई दिँदै कक्षा ११ र १२ राम्रोसँग पढेर देशको एक असल नागरिक बन्न सुझाव दिइन् ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयमा कक्षा ११ मा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहमा १ हजार विद्यार्थी भर्ना भएको बताए । उनले विद्यालयले शैक्षिक अनुसन्धान तथा गुणस्तर सुधार केन्द्र अन्तर्गत विद्यालयले अवलम्बन गरेका असल अभ्यासहरू साझेदारीमा प्रतिस्पर्धा गरेको, ब्रिटिस काउन्सिलका व्यवहार कुशल सीप अन्तर्गतका सीपहरू विकास र कार्यान्वयनमा जोड दिँदै विद्यार्थीको नेतृत्व, व्यक्तित्व विकासमा विशेष ध्यान दिने नीति अन्तर्गत नवीन अनलाइन स्टुडियो स्थापना गरी विद्यालयका शैक्षिक गतिविधि उजागर गर्ने नीति विद्यालयले ल्याएको धारणा व्यक्त गरे ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी युवराज खनालको अध्यक्षतामा, विज्ञान समूह कक्षा १२ कि छात्रा आस्था पाण्डे र व्यवस्थापन समूह कक्षा १२की छात्रा भगवती कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, सिभिल इन्जिनियरिङ इन्चार्ज सपना भट्टराई, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थ, एमबिबिएसमा नाम निकाल्न सफल महेक चौधरी, बाम्समा निकाल्न सफल अङ्किता पराजुली, वर्षा भुसाल, काजल गुप्ता, समीक्षा जिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

उक्त अवसरमा एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल महेक चौधरी, अजय कोइरी, बाम्समा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल अंकिता पराजुली, पारुल चौधरी र संयुक्त चौधरीलाइ, पुलचोक इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल प्रदिप ज्ञवाली र प्रवीण अधिकारीलाई जापान गजुरियो कराते डो अन्तर्गत श्रीलङ्कामा सञ्चालित अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्न सफल कक्षा ११ व्यवस्थापन समूहका छात्र रेशम अर्याललाई र कक्षा ११ र १२ मा सञ्चालित हस्तलेखन प्रशिक्षणमा कक्षा ११ बाट नेपाली हस्तलेखनमा प्रथम शितल खाम्चा, द्वितीय दीपिका थापा र हबीवा खातुन, तृतीय आकृति कँडेल र कसम दिसुवा, कक्षा १२ बाट अङ्ग्रेजी हस्तलेखनमा प्रथम सुष्मिता कुमारी थारु, द्वितीय समिर बोहरा र सलिना चौधरी, तृतीय बन्दना गुप्ता र लालकुमारी खत्रीलाई सम्मान गरिएको थियो। कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले रोचक नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।