२०८१ कार्तिक २०

देउसी–भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुईको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक १९, सोमबार १७:२३ गते

बुटवल १९ कात्तिक ।
अर्घाखाँचीमा देउसी–भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५, जयठाँटीमा ना३ख २४७१ नम्बरको बसको ठक्करबाट ३३ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक ईश्वरी अधिकारीले बताए । जसमध्ये गम्भीर घाइते १० जनालाई बुटवल रिफर गरिएको छ।
बसको ठक्करबाट अर्घखाँचीको भूमिकास्थानका २२ वर्षीया तारा श्रेष्ठ र ७० वर्षीया रुनी खनालको ज्यान गएको अर्घाखाँची प्रहरीका डिएसपी चक्रबहादुर मल्लले बताए।
देउसी–भैली समूह बोकेको बसले भैली खेलिरहेको अर्को समूहलार्ई ठक्कर दिएको थियो। बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको बताइए पनि त्यसको जाँच गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। बसका चालक फरार रहेको र खोजी भइरहेको डिएसपी मल्लले बताए।
सोमबार करिब ५ बजे भएको घट्नामा परी घाइते भएकाहरुलाई जिल्ला अस्पताल अर्घाखाचीमा उपचार गरिएको छ । मानिसहरुलाई ठक्कर दिने क्रममा बसले अन्य तीन वटा सवारी साधनलाई पनि ठक्कर दिएको थियो ।