२०८१ मंसिर ८

रुपन्देहीमा लामिछानेसँग दोस्रो दिन पनि बयान
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २८, बुधबार ०८:०९ गते

बुटवल २८ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग दोस्रो दिन पनि बयान सुरु भएको छ। सरकारी वकिलको कार्यालय रुपन्देहीमा आज बुधबार बिहान साढे १० बजेबाट बयान सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार आजको बयानमा करिब ५० प्रश्न सोधिनेछ। लामिछानेसँग मंगलबार रुपन्देहीमा तीन घण्टा ३५ मिनेट बयान लिइएको थियो। सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका उनलाई सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले मंगलबार दिउँसो सवा १ बजेबाट सुरु गरिएको बयान ४ बजेर ५० मिनेटसम्म जारी रहेको बताएका थिए। मंगलबार प्रारम्भिक बयान लिइएको थियो।
मंगलबार बयानपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको थियो। आज बिहान उनलाई जिप्रकाबाट सरकारी वकिल कार्यालयमा लगिएको छ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई सीधै कास्की लगिएको थियो। कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंगलबार भैरहवा ल्याइएको थियो।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो। सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही ल्याएको हो।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरेको थियो। कात्तिक २ गते पक्राउ परेका उनलाई कास्की प्रहरीसँगको समन्वयमा सोमबार विमानबाट भैरहवा ल्याइने तयारी गरे पनि विमानको समय नमिलेपछि मंगलबार ल्याइएको थियो।
रुपन्देही जिल्ला अदालतबाट प्रहरीले लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ। जिल्ला अदालत रुपन्देहीले यही कात्तिक ८ गते बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित १२ जना बिरुद्ध पक्राउ पुर्जी नै जारी गरेको थियो ।
अदालतले लामीछाने सहित पूर्वडीआईजी छविलाल जोशी दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पक्राउ अनुमती दिएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरूद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरूङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित छ जना धरौटीमा रिहा भइसकेका भने सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन ्।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा अदालतले गत बैशाखमा अध्यक्षलाई थुनामा पठाउने देखि अन्य केहीलाई धरौटीमा छाड्नेसम्मका आदेश गरेको थियो । रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि बैशाख ७ गते सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाएको थियो । त्यस्तै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसँग ४ लाख धरौटी माग गरेको थियो । यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको थियो । ओखलढुंगा घर भएका गितेन्द्रबाबु ९जीबी० राईसहित १९ जनालाई पक्राउ पुर्जी ९समाह्वान० जारी गर्ने आदेश भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । सहकारीमा नियमित बचत गरेको सर्वसाधरणको रकम ठगी गरेको भन्दै १ हजार भन्दा पनि बढीले प्रहरीमा उजुरी गरेका थिए । सहकारीमा जीबी राईसहितको समुहले सर्वसाधरणबाट बचत भएको करोडौ रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनमा करोडौं रकम अपचलन भएको तथ्य फेला परेपछि सोही अनुसारको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।
प्रहरीले करिब १ अर्ब ३ करोड रकम अपचलन भएको भन्दै मुद्दा अगाडी बढाइएको बताएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीसग पनि रुपन्देहीमा २ दिनसम्म बयान लिइएको थियो । उनी पनि पोखरामा प्रहरी हिरासतमा रहेका छन् । यहा वयान लिएपछि उनलाई पोखरा नै पठाइएको थियो ।