२०८१ मंसिर ८
लुम्बिनी ७ मंसिर ।
पूर्वराजा ज्ञानेन्द्र शाह शान्तिका अग्रदुत गौतम वुद्धको जन्मभुमि लुम्बिनीमा स्थापित हजार बुद्ध मन्दिरको पूजामा सहभागी भएका छन्। लुम्बिनीस्थित पश्चिम विहारमा पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) मा आयोजित विश्वशान्ति र प्राण प्रतिष्ठा पूजामा शुक्रबार उनी सहभागी भएका हुन्।
पूर्वराजा शाहलाई बौद्ध गुरु छोकी निमा रिन्पोछेले स्वागत गरेका थिए। यसैगरी उनलाई बौद्ध धर्मगुरुहरुले समेत स्वागत गर्दै पूजामा सहभागी गराएका थिए यसअघि हजार बुद्धका मूर्तिहरू रहेको विहारका रिन्पोछेसहित लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले उद्घाटन गरेका थिए।
शान्तिका अग्रदुत गौतम वुद्धको जन्मभुमि लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को उद्घाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा सङ्गठन तथा लुम्बिनी विकास कोषले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहका बिच उद्घाटन गरिएको हो ।
बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गुम्बाको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष लामाले लुम्बिनीमा ठुलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरूका लागि गौरव भएको बताए । उनले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए ।
यस्तै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरूको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले लुम्बिनीमा विहारहरू निर्माणले बौद्ध पर्यटनमा ठुलो टेवा पुर्याउने बताए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन खान, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनको सहभागिता रहेको थियो ।
विहार उद्घाटन अघि मङ्सिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मङ्गल ज्ञान बर्सात नाम शुद्धि स्नानद्वारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्य मुनी बुद्धको साधना सोह स्थविरको स्तुति एवं पूजन गरिएको विहारका प्रमुख रिन्पोछे ग्यालजोनले जानकारी दिए ।