२०८१ पुष ७

मानव वन्यजन्तु द्वन्द्व समाधान बारे लुम्बिनीका मुख्यमन्त्रीद्धारा छलफल
  • लुम्बिनी खोज
  • २०८१ पुष ४, बिहीबार ०६:४१ गते

बुटवल ४ पुस ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव बन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माण बारे लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका जिम्मेवार पदाधिकारी संग छलफल गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकहरुले भोग्दै आएका समस्या समाधानको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल र बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायत सम्बद्ध पक्ष संग छलफल गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक बर्ष २०८०–८१ मा पाँच जनाको मृत्यु भएको र आठजना घाइते भएको प्रदेश वन तथा वातावरण मन्त्रालयले उपब्ध गराएको तथ्यांकमा उल्लेख छ । जस मध्य बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्य भएको थियो । एक वर्षमा भेडा–बाख्रा २१७, गाई–भैँसी ३१, बङ्गुर ४५, हाँस–कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वनबिरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृगसमेत घाइते भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका योजनाका काम गर्दै आएको जनाएको छ ।