२०८१ पुष २७

उपभोक्ताको हित संग खेलवाड गर्नेलाई दण्डित र उत्कृष्ट सेवा दिनेलाई प्रोत्साहन गर्न जरुरीः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ पुष २७, शनिबार ११:४४ गते

बुटवल २७ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले ईमानदारीता देखाउनुपर्ने र उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् । उपभोक्ता हित संरक्षण मंच नेपालले शनिबार बुटवलमा गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले ईमानदारीता देखाउनैपर्ने बताए । प्रदेश सरकारले अनुगमनलाई तिब्रता दिन प्रदेश स्तरीय संयन्त्र निर्माण गरिने समेत उनले बताए ।‘चाडपर्वको बेलामा मात्रै होइन, १२ महिना, ३६५ दिननै अनुगमन र निगरानी हुने व्यवस्था गरिनुपर्छ’उनले भने,‘प्रदेश तहबाट पनि एउटा अनुगमन संयन्त्र बनाउछौं ।’
बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ। अखाद्य बस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दिर्घरोगबाट पिडित हुनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री आचार्यले अखाद्य बस्तुको कारोबारलाई निरुत्साहित बनाउनुपर्ने बताए ।‘उपभोक्ताको हित संग जस्ले खेलवाड गर्छ । म्याद गुज्रेका, अखाद्य वस्तु उत्पादन तथा विक्रि वितरण गर्छ त्यसलाई कानुनी दायरामा ल्याउन अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’उनले भने,‘यसका लागि तीन तहकै सरकारको संयन्त्र परिचालन हुनुपर्छ । नागरिक तह, उपभोक्ताको क्षेत्रबाट पनि निगरानी र खबरदारी भइरहनुपर्छ ।’ उपभोक्ताको अधिकार सुनिश्चित गर्न सशक्त कानूनी संरचना निर्माण, सचेतना अभियानहरु तिब्र पारिनुपर्ने, गुणस्तरीय परिक्षण र नियमनको कामलाई प्रभावकारी रुपमा अघि बढाइने समेत उनले बताए । उपभोक्ताको हित संग खेलवाडगरी अनुचित व्यापार गर्नेलाई कानूनी रुपमा दण्डित गर्ने र उत्कृष्ट सेवा तथा गुणस्तरीय उत्पादन दिने व्यवसायीलाई प्रोत्साहन गर्न जरुरी रहको उनको भनाइ छ ।