२०८१ माघ ६
बुटवल ६ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको जिकिर गरेका छन् । उनले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको समेत बताए ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले जनताको सुसूचित हुने अधिकारलाई सम्मान गर्दै हरेक सरकारी क्रियाकलाप जनतासमक्ष पुर्याउनुपर्ने आवश्यकता औंल्याए । उनले सरकारका हरेक कदम स्पष्ट, छरितो र प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउनु आजको समयको माग भएको पनि बताए ।
जनताको माग बमोजिम सूचना उपलब्ध गराउन ढिलासुस्ती नगर्न र सूचना प्रवाहमा हुने आनाकानी तथा अपारदर्शी प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । सरकारले जनताको हितका लागि काम गर्छ । हामी जनताको ऐना हौं । हाम्रो कार्यशैली र उपलब्धि स्पष्ट रूपमा जनताले देख्न पाउनुपर्छ, उनले भने, सरकारको कामलाई पारदर्शी र भष्ट्राचार मुक्त बनाउन सूचनाको हकलाइ प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।
उनले सूचना माग गर्दा अप्ठ्यारो महसुस नगरी समयमै सूचना उपलब्ध गराउन निर्देशन दिँदै यो कार्य सरकारलाई सच्चिन र सुध्रिन सहयोगी हुने धारणा राखे ।
अभिमुखीकरण कार्यक्रममा सहभागी अधिकारीहरूले सूचना प्रवाहलाई व्यवस्थित गर्दै जनउत्तरदायी शासन प्रवर्द्धन गर्न सरकारका पहललाई साथ दिने प्रतिवद्धता जनाएका थिए । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डाक्टर सुरेशप्रसाद आचार्यको उपस्थितिमा प्रदेश सरकारले कार्यक्रम गरेको हो ।