२०८२ बैशाख ८
अर्घाखाँची १२ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका ६ नरपानीमा मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति पार्क निर्माणगरि शालिक निर्माण गरेको छ । मुख्यमन्त्री आचार्यले सहिदको शालिक अनावरण गर्दै परिवर्तन र समानताकालागी दिएको बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेको बताए । मुलुकको विकास र समृद्धिकालागी सहिदहरुले देखेका सपना पुरा गर्न सरकार प्रतिबद्ध छ, उनले भने, सहिद पार्क निर्माण गरेर सहिदहरुको योगदानलाइ स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको छ । समाज र राष्ट्रले सधैं सम्झिरहने छ । सहिदहरुप्रति सच्चा सम्मान र देशभक्तिको भावना जागृत गराउन सरकारले भूमिका बढाएको पनि उनले बताए । सहिद पार्क र सालिक निर्माणबाट सहिदको योगदानलाइ जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनको काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेको भन्दै उनले प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्तिविकासमा योगदान पुगेको बताए। प्रदेशमा चार हजार ७८ कर्मचारीको दरबन्दि मध्ये एक हजार ९ सय कर्मचारी पदपूर्तिकालागी प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने उनको भनाइ छ ।
पदपूर्ति र बढुवाको काम अघि बढेको छ । जनशक्तिको समस्या समाधान गर्न सरकार सफल हुदैछ, उनले भने, उपसचिव देखि मुनिका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति बढाउछौं । साथै मुख्यमन्त्री आचार्यले चालू आर्थिक बर्षमा प्रदेशबाट बिनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनलाइ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गरे ।
निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निजामती कर्मचारीका साथै राजनीतिककर्मि, सामाजिक अभियानकर्मि, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।