२०८२ जेष्ठ ६
बुटवल ४ जेठ ।
विज्ञान विषय प्रवर्द्धनका लागि विद्यालय विकास योजनाको लेखाजोखा तथा पुनरावलोकन कार्यशाला आइतबार बुटवलमा सुरु भएको छ।
लुम्बिनी प्रदेशका १० वटा जिल्लाहरू रूपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, पश्चिम नवलपरासी ,पूर्वी रुकुम, रोल्पा प्युठान ,दाङ र कपिलवस्तु जिल्लाका १६ वटा विद्यालयका प्रधाना ध्यापकहरूको सहभागिता रहेको नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।
एडिबीको सहयोगमा मुलुकभरका ११७ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमा विज्ञान विषय प्रवर्धन कार्यक्रम कार्यान्वयनमा रहेको छ। विद्यालयहरूमा अवलम्बन गरिएका असल अभ्यासहरू आदानप्रदान गर्नको लागि प्रधानाध्यापकहरूको लागि दुई दिने कार्यशाला सञ्चालन गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले बताए ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं विज्ञ परामर्शदाता जनार्दन नेपालले लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयहरूले शिक्षा क्षेत्रमा अगुवाई गरेको बताए । उनले प्रदेश सरकारले पनि विज्ञान समूह अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्ति व्यवस्था गरेकोमा प्रशंसा गर्दै देशको समग्र शिक्षाको बारेमा प्रकाश पारेका थिए ।
बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा कालिका मानवज्ञान मावि बुटवलका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले विद्यालयले भौतिक व्यवस्थापन , गुणस्तर अभिवृद्धि र सामाजिक सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयको प्रशासकले विद्यालयमा एउटा प्रणालीको विकास गर्दै असल उत्तराधिकारी निर्माण गर्ने तर्फ पनि प्रयत्नशील हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुटवलमा कार्यशालाको आयोजना गरेकोमा आभार व्यक्त गरे ।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका इकाई प्रमुख उपसचिव माधव बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले गरेका थिए ।