२०८२ श्रावण १२

लुम्बिनीमा थपिए मन्त्री, मन्त्रिमण्डल १२ सदस्यीय
  • लुम्बिनी खोज
  • २०८२ श्रावण ११, आईतवार १३:३८ गते

बुटवल ११ साउन ।
लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष पाण्डेलाई युवा तथा खेलकुद मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८१ साउन ९ गते गठन गरिएको र पछिल्लो पटक कात्तिक ७ गते पुनर्गठित मन्त्रिपरिषद्मा पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीको रूपमा नियुक्त गर्न सिफारिस गरेको जनाइएको छ ।

पाण्डेले भोलि दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्रीसहित १२ सदस्यीय रहेको प्रदेश मन्त्रिपरिषद्मा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयम्‌ले सम्हाल्दै आएका थिए ।

वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ जना मन्त्री रहेका छन् ।