२०८२ आश्विन ३०
लुम्बिनी २९ असोज ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
बुधबार इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) को ६०औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी आएका विभिन्न देशका प्रतिनिधिलाई स्वागत गर्दै उनले सम्पदाको संरक्षण र संवर्द्धनमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।
उपाध्यक्ष लामाले बुद्धको शिक्षा केवल बौद्धमार्गीका लागि नभई सम्पूर्ण मानव जगतको हितका लागि भएको पनि बताए । ‘बुद्धको शिक्षा नै एक प्रकारको विज्ञान हो, जसलाई सबै मानवले अपनाउन सक्छन् ।’ उनले भने ।
त्यस अवसरमा लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाणेकाजीले लुम्बिनीको विकासका लागि ‘मायाँदेवी सुत्केरी मार्ग’ को अवधारणा अघि सारिएको जानकारी दिए । उनले बुद्ध जन्मपछि मायाँदेवीले गरेको यात्रालाई पर्यटनसँग जोड्न सकिने बताए । पाणेकाजीले नेपालको पर्यटन विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
इकोमसका विश्वभर ११७ देशमा राष्ट्रिय समिति, ३१ वैज्ञानिक समिति र १३७ देशका १२ हजार ७१५ विज्ञ सदस्य रहेको जानकारी दिइएको छ ।