२०८२ कार्तिक १९
कपिलवस्तु १८ कात्तिक ।
कपिलवस्तुमा अटो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । त्यस्तै कपिलवस्तुमै स्कार्पियोको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका– १, शिवनगरमा सोमबार साँझ दुई अटो रिक्सा एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन्।
कृष्णनगरबाट बहादुरगन्जतर्फ जाँदै गरेको लु.१ह २९६ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेको लु.१ह ८२४ नम्बरको अर्को अटोलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका महाराजगन्ज नगरपालिका– ११, बडेगाउँका ३५ वर्षीय विष्णु धरिकको उपचारका क्रममा चौराहा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
धरिकका पाँच वर्षीय छोरा विष्णु र १० वर्षीया छोरी रन्जितासमेत दुर्घटनामा घाइते भएका छन्। उनीहरूको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ।
दुर्घटनापछि एक अटोचालक रन्जित अग्रहरिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ भने अर्का चालक फरार छन्।
स्कार्पियोको ठक्करबाट वृद्धको मृत्यु
कपिलवस्तुमा मंगलबार दिउँसो स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
कृष्णनगर नगरपालिका–९ जुमिलास्थित कृष्णनगर–चन्द्रौटा सडकखण्डमा करिब ३ बजेतिर भएको दुर्घटनामा ६५ वर्षीय शिवप्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।
यु पि ३५ ए के २४१५ नम्बरको महिन्द्रा स्कार्पियोले बाटो क्रस गर्दै गरेका पैदल यात्री चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
गम्भीर घाइते चौधरीलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगंज पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कार्पियो चालक ३५ वर्षीय पप्पु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।