२०८२ कार्तिक २६
काठमाण्डौं २६ कात्तिक ।
निर्वाचन आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशत काम सम्पन्न भइसकेको जानाकारी प्रधानमन्त्रीलाई गराएको छ । हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगले गराएको छ ।
बुधबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा आयोगका पदाधिकारीले यससम्बन्धि जानकारी दिएका हुन्।
छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरूसमेतको टोली छलफलका सहभागी थिए ।
आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको बताउँदै भण्डारीले भने ‘हाम्रो मूल्यांकनअनुसार तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ। कुनै दुविधा राख्नुपर्ने अवस्था छैन।’
प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर चासो राखेकी छिन्।