२०८३ असार ३१

नक्कली नेपाली नोट, नोट छाप्ने उपकरणसहित ६ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०८३ असार ३१, बुधबार १२:१६ गते

बुटवल ३१ असार ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका– ६, नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका– ११ निवासी ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका– १ निवासी किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका– १ निवासी सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका– १ निवासी ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका– ४ निवासी ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल राज्य, सिलिगुडीस्थित भक्तिनगर थाना क्षेत्रका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरीले घर तथा कोठा खानतलासी गर्ने क्रममा रु. एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट , फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेका सबैमाथि मुद्रसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।