२०८३ श्रावण १
बुटवल १ साउन ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त निर्णय तत्काल फिर्ता लिएर सञ्चालक समितिमा उद्योगीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष एजाज आलमद्वारा जारी प्रेस विज्ञप्तिमा लामो समयदेखि कायम रहेको उद्योगीहरूको प्रतिनिधित्व हटाउने निर्णय लोकतान्त्रिक अभ्यास र सुशासन विपरित भएको उल्लेख गरिएको छ।
महासंघका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूको हकहित संरक्षण, समस्या समाधान तथा उद्योगमैत्री वातावरण निर्माणमा उद्योगी प्रतिनिधिहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उद्योगीहरूको प्रत्यक्ष सहभागिताबिना गरिएको निर्णयले औद्योगिक क्षेत्रको व्यवस्थापन झन् जटिल बन्नुका साथै उद्योगमैत्री वातावरण कमजोर हुने दाबी गरिएको छ।
विज्ञप्तिमा सरकारले उद्योगीहरूसँग कुनै छलफल वा परामर्श नगरी एकपक्षीय रूपमा निर्णय गरेको भन्दै नीति निर्माण तहमा उद्योगीहरूको सहभागिता अपरिहार्य रहेकोमा जोड दिइएको छ। सरकारले मागको सुनुवाइ नगरे थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ।
