२०८३ श्रावण १५

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने गुन्डुमा सहमति
  • लुम्बिनी खोज
  • २०८३ श्रावण १४, बिहीबार १५:१८ गते

बुटवल १४ साउन ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने गरी गुन्डुमा सहमति गरिएको छ।एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच सत्तासहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।

एमाले अध्यक्ष केपी ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीबिच भक्तपुरको गुन्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

छलफलमा सहभागी पूर्वमुख्यमन्त्री गिरीले छलफलबाट आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने गरी टुंगोमा पुगेको बताए । ‘अब मुख्यमन्त्रीको टुंगो लागेकाले नयाँ समीकरणअनुसार लुम्बिनी प्रदेशमा एमाले, नेकपा र जसपाबिच मन्त्री बाँडफाँट गरी मन्त्रिमण्डलले पूर्णता पाउँछ, त्यसका लागि मुख्यमन्त्रीले आवश्यक छलफल अगाडि बढाउनुहुन्छ,’ गिरीले भने, ‘आवश्यक सहयोग मैले गर्छु ।’

यससँगै मन्त्रालयको बाँडफाँट, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ । मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दलहरूबिच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृहकार्य सुरु हुने जनाइएको छ ।

नेकपाका संसदीय दलका नेता पूर्वमुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्रीको टुंगो लागेकाले अब भोलि बिहान मन्त्री बाँडफाँटका विषयमा छलफल हुने बताए । जसपा पनि सरकारमा सहभागी रहने गरी नै छलफल अगाडि बढ्ने उनले बताए। मुख्यमन्त्री काठमाडाैं रहेकाले मुख्यमन्त्री फर्केपछि छलफल अगाडि बढ्ने महराले बताए ।