२०८३ श्रावण १८
बुटवल, १८ साउन ।
बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा सञ्चालन गरेको व्यवसाय प्रवर्द्धन कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरेको छ। कार्यक्रममार्फत नवउद्यमीलाई व्यवसाय सञ्चालन, व्यवस्थापन तथा बजार विस्तारसम्बन्धी व्यावहारिक ज्ञान, सीप र परामर्श प्रदान गरिएको संघले जनाएको छ।
सोमबार आयोजित समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्यमशीलता विकासका लागि नवउद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले संघले विगतदेखि बिजनेस इन्क्युबेशन कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्ष सोही अवधारणालाई व्यवसाय प्रवर्द्धन कार्यक्रमका रूपमा अघि बढाइएको बताए।
उनले नवउद्यमीलाई व्यवसाय स्थापना र विस्तारका लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै यसबाट औद्योगिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीका अनुसार २०७६ सालदेखि सञ्चालन हुँदै आएको बिजनेस इन्क्युबेशन कार्यक्रमलाई यस वर्ष औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा व्यवसाय प्रवर्द्धन कार्यक्रमका रूपमा सञ्चालन गरिएको हो। कार्यक्रममा १३ जना नवउद्यमी सहभागी भएका थिए।
कार्यक्रम अवधिभर सहभागीलाई अनुभवी मेन्टर र सहजकर्तामार्फत नियमित परामर्श, सफल उद्यमीबाट बिजनेस कोचिङ, नेटवर्किङ, लेखा व्यवस्थापन तथा व्यवसाय सञ्चालनका विभिन्न व्यावहारिक पक्षबारे प्रशिक्षण प्रदान गरिएको उनले जानकारी दिए।
समापन समारोहमा सहभागी उद्यमीहरूले आफ्नो व्यवसायको वर्तमान अवस्था, तालिमबाट प्राप्त अनुभव तथा भावी योजनाबारे प्रस्तुति दिएका थिए। नेपालमै उत्पादन हुने को–को चकलेटका सञ्चालक मोहित भुसाल, स्वादिष्ट फुड एण्ड प्याकेजिङकी सुमित्रा अर्याल, अल्बाट्रोस ट्रेजर्सकी सिमरन सुनार, सावित्रा ब्युटी पार्लरकी सावित्रा खत्री, सोनी ब्युटी पार्लरकी सावित्रा थापा, एकीकृत मोरङ्गा कृषि फर्मकी जानकी घिमिरे तथा दुना–टपरी उद्योगकी बालिका घिमिरेले आफ्ना व्यवसायका अनुभव, तालिमबाट प्राप्त उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए। सहभागी उद्यमीहरूले उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा डेमोन्स्ट्रेसनसमेत गरिएको थियो।
बुटवल उद्योग वाणिज्य संघले २०७६ सालमा पहिलो पटक बिजनेस इन्क्युबेशन कार्यक्रम सुरु गरेको थियो। त्यसयता तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले चौथो संस्करणलाई व्यवसाय प्रवर्द्धन कार्यक्रमका रूपमा सञ्चालन गरेको हो। संघका अनुसार अघिल्ला संस्करणका अधिकांश सहभागी नवउद्यमी सफलतापूर्वक व्यवसाय सञ्चालन गर्दै विस्तारको चरणमा पुगेका छन्।
कार्यक्रमले उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारी, कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरिश्वर शर्मा, ब्युटी पार्लर वस्तुगत समितिकी सभापति रेनु कर्माचार्यलगायतले सहभागी नवउद्यमीलाई सफल उद्यमशील यात्राको शुभकामना व्यक्त गरेका थिए।


