२०८१ आश्विन ७

विश्व रक्तदाता दिवसको अबसरमा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३१, बुधबार ०८:३० गते

बुटवल,३१ जेठ ।

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ।

रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ। यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ।नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ। यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ।  यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ।

शहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान

शहीद जितेन्द्र-मणि स्मृति प्रतिष्ठान रुपन्देहीले सहिद बिनोद पन्त जितेन्द्र र सहिद शेषमणी लामिछाने मणिको सहादत भएको दिनको स्मृतिमा भैरहवा बस पार्कमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ३० पोइन्ट रक्तदान तथा भैरहवाकै भिम अस्पतालका ४० जना बिरामीहरुलाइ फलफूल तथा जुस वितरणको कार्यक्रम सम्पन्न गरेको छ ।
भिम अस्पतालका मेसु डा.सकुन्तला गुप्ता , ब्यवस्थापन समितिका सदस्य लक्ष्मी केसी, वडा अध्यक्ष नारायण सापकोटा, सिद्धार्थ सार्बजनिक यातायातका अध्यक्ष सजिव रोका आदिको सहभागी रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष तिर बहादुर रोकाको अध्यक्षता कार्यक्रम संयोजक तथा उपाध्यक्ष नारायण बहादुर हमालको स्वागत र सचिब मनिष कुमार जोशीको संचालनमा सम्पन्न भएको थियो

शान्ति समाजद्वारा ७ जिल्लामा रक्तदान

विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुले विभिन्न ७ जिल्लामा रक्तदान कार्यक्रम गरेका छन् । शान्ति समाज महोत्तरी शाखाको आयोजनामा जलेश्वरमा सम्पन्न रक्तदान कार्यक्रममा २८ जनाले र चितवन शाखाद्वारा आयोजित कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।
यसैगरी शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा ३ दर्जन बढीले र शान्ति समाज नुवाकोट शाखा र नुवाकोट आर्दश बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा बट्टारमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।