२०८१ माघ १

भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन हुँदैनः पूर्वप्रधानमन्त्री नेपाल
  • लुम्बिनी खोज
  • २०८० असार २६, मंगलवार १२:३५ गते

पाल्पा २६ असार ।
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्नेमाथि छानबिन गरिनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले ललितानिवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे।

ललितानिवास जग्गा प्रकरणमा आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएको उल्लेख गर्दै नेपालले सत्यतथ्य छानबिन गरी जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताए। आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत छुट्याएर अगाडि बढाउनू भन्ने निर्णय भएको उनको भनाइ थियो।

भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कन नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकार पाँच वर्षसम्म बलियो भएर अघि बढ्ने दाबीसमेत गरे। वर्तमान सरकारलाई टिकाइराख्नका लागि गठबन्धन दलभित्र छलफल चलिरहेको उनको भनाइ थियो।