२०८१ पुष ११
काठमाडौँ ५ असार।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।
बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाउने प्रतिबद्धता पनि जनाए । सञ्चारकर्मीले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानीलकण्ठको पनि मिलेमतो हुने गरेको जिज्ञासा राखेपछि त्यसको जवाफमा मन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिए।
उनले सुनको अवैध धन्दाजस्ता आपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत्त नहुने गरी नयाँ योजना ल्याउने घोषणासमेत गरे।
भ्रष्टाचार र अपराधको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने जनाउँदै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानबिनको काम गर्ने र त्यसमा सघाउ पुर्याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि जानकारी गराए।
उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्न छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताए।