८ जेष्ठ २०८१, मंगलवार

ड्रिम युनिक रूपन्देही सुपरलिगः तिरुपतिद्वारा वेष्टर्न ५ विकेटले पराजित
  • लुम्बिनी खोज
  • २० चैत्र २०८०, मंगलवार १२:१५

भैरहवा,२० चैत ।

तिरुपति क्रिकेट क्लबले ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेको छ । मंगलबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा वेष्टर्न क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै तिरुपतिले जित हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा २९ ओभर ५ बल खेल्दै १ सय ४ रन बनाउँदा अलआउट भयो । उसका लागि भुवन पाण्डेले २०, दिवान पुनले १६, रञ्जित खड्काले १४ तथा विष्णु पाण्डेले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम सस्तैमा समेटियो र पराजित भयो । बलिङमा उसलाई सस्तैमा रोक्न तिरुपतिका आकाश त्रिपाठीले ३, सुभाष खत्री र संदीप मौर्यले २–२ तथा रोहित थापाले १ विकेट हात पार्न सफल भए । १ सय ५ रनको झिनो लक्ष्य पछ्याएको तिरुपति २४ ओभर ४ बलमा ५ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा संदीप मौर्यले ३६, एजाजुल हकले अविजित २२ तथा तुलबहादुर थापाले २० रनको योगदान दिए । बलिङमा वेष्टर्नका अभिषेक गौतम र दिवान पुनले समान २–२ विकेट लिए ।
खेलमा तिरुपतिका संदीप मौर्य म्यान अफ द म्याच भई १ हजार दुई सय रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।