२०८१ श्रावण १२

रुपन्देहीका उद्योगमा कार्यरत प्राविधिक जनशक्तिलाई तालिम
  • लुम्बिनी खोज
  • २०८० चैत्र २६, सोमबार १०:०७ गते

बुटवल, २६ चैत ।
रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका उद्योगमा कार्यरत प्राविधिकहरुको स्तरोन्नतिका लागि क्षमता अभिवृद्धिका तालिमहरु निरन्तर संचालन भइरहेका छन् । औद्योगिक क्षेत्रमा दक्ष कामदारको समस्या परिरहेको बेला यस्ता तालिमले उद्योगी र मजदुरलाई सहज भएको उनीहरुले जनाएका छन् । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित शिप विकास ईकाईको आयोजनामा संचालित यस्ता विधागत तालिम प्रति सहभागीको पनि चासो बढ्दै गएको छ । हरेक क्षेत्रका विज्ञ प्रशिक्षकहरुबाट एकपटकमा २० जना सहभागी बनाएर ९६ घन्टा दिइने यस्ता तालिममा उद्योगीहरुले छनौट गरेर सहभागीलाई पठाउने गरेको उद्योग संघका कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी बताउछन् ।
सोमबार मेशिन प्रोग्राम कन्ट्रोलर तथा ड्राइभ संचालन र मर्मत तालिमको समापन गरियो भने दोस्रो चरणको तालिम शुभारम्भ गरिएको छ । कार्यक्रममा भिएफडी तालिमका प्रशिक्षार्थी अमृत नेपालीले नयाँ प्रविधिबारे अधिकतम जानकारी पाएर धेरै लाभ लिन सकेको र यसलाई व्यवहारिक रुपमा प्रयोग गर्ने बताए । पिएलसी तालिमका सहभागी प्रशिक्षार्थीहरुको तर्पmबाट मन्तव्य राख्दै उनले यस प्रकारका विद्यागत तालिमले सहभागी सबैलाई आन्तरिक क्षमताको विकास गराउने भएकाले संघले यस्ता कार्यक्रम सबै क्षेत्रलाई योजना बनाएर संचालन गर्न आग्रह गरे ।
संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले संघले समायानुकुल र आवश्यकता बमोजिमको तालिमहरु संचालन गर्दै आएको र यस्ता तालिमलाई प्रभावकारी बनाउन सिकेका सीप कार्यान्वयनमा लैजान सुझाव दिए ।
पूर्व अध्यक्ष एवं अध्यक्ष परिषद्का संयोजक डम्बरदेव अर्यालले स्थापनाकालदेखि नै संघले औद्योगिक विकासका लागि कटिवद्ध रहेर विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताए । उनले औद्योगिक क्षेत्रमा सीपको सिकाईले सबैलाई फाइदा पुग्ने जनाउँदै यसको अधिकतम प्रयोग गर्न समेत आग्रह गरे ।
पूर्वअध्यक्ष बाबुराम बोहोराले हरेक उद्योगमा आवश्यक प्रविधि सम्बन्धि तालिमलाई संघले योजना बनाएर आवश्यकताका आधारमा अगाडि बढाउनु पर्ने बताए ।
सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले आयोजनाले हरेक क्षेत्रका उद्योगमा रहेका कामदारहरुलाई प्राथमिकताका आधारमा यस प्रकारका तालिम संचालन गर्दै आएको बताए ।
वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगी र कामदारलाई सहज बनाउने यस प्रकारका तालिमले काम गर्न सहजता प्रदान गरेकाले आगामी दिनमा यसलाई निरन्तरता दिएर अगाडि बढाउने धारणा राखे ।
कार्यक्रममा संघले प्रकाशन गरेको भित्ते तथा टेबुल क्यालेण्डर विमोचन गरिएको छ । भित्ते क्यालेण्डर प्रकाशनका लागि कार्य समिति सदस्य लाल प्रसाद बस्यालले संयोजन गरेका थिए भने टेवल क्यालेन्डर प्रकाशनका लागि कार्य समिति सदस्य प्रज्ववल थान्जुले संयोजन गरेका थिए ।
कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्य प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।