७ जेष्ठ २०८१, सोमबार

तेस्रो लगानी सम्मेलन शुरु, ५५ देशका लगानीकर्ता नेपालमा
  • लुम्बिनी खोज
  • १६ बैशाख २०८१, आईतवार ०९:३४

बुटवल,१६बैशाख ।
तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन आयोजना भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरे। सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन । सम्मेलनको दुई दिनको अवधिभर नेपालले लगानी भित्र्याउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराउने कार्यक्रम राखिएको छ । सोकेसका रूपमा रहने त्यस्ता परियोजनाको प्रदर्शनीबाहेक सम्मेलनभर विभिन्न १० वटा विषयगत छलफल सत्र, नेपालमा लगानीको सम्भावना, विदेशी लगानीकर्ताको अनुभव र सार्वजनिक निजी साझेदारीका विषयमा समेत छुट्टै बृहत् छलफलको कार्यक्रम राखिएको छ ।
यस्तै तोकिएका निश्चित लगानीकर्ताको समूहलाई सोझै प्रधानमन्त्रीलाई भेट्न सक्ने र आफ्ना योजना सार्वजनिक गर्न सक्ने कार्यक्रम पनि सोही क्रममा राखिएको छ । यसबाहेक दुई दर्जन जति बिटुबी ९व्यवसायी व्यवसायीबिच सोझै हुने छलफल० पनि सो क्रममा हुने छ । सम्मेलनकै क्रममा लगानी टुङ्गिएका परियोजनामा सम्झौतासमेत हुने छ । सम्मेलन अवधिभर भएका सम्झौता र उपलब्धिको विवरण सार्वजनिक गर्दै सोमबार समापन गर्ने कार्यक्रम राखिएको छ ।
सम्मेलनको सचिवालयका रूपमा काम गरिरहेको लगानी बोर्डको कार्यालयका अनुसार सम्मेलनका लागि तय गरिएका विषयगत सत्र र छलफल सत्रका लागि ५० जनाभन्दा बढी वक्ता टुङ्गो लागेका छन् । सम्मेलनमा सहभागिताका लागि कार्यालयका तर्फबाट दुई हजार चार सय जनाभन्दा बढीलाई निम्तो पठाइएकोमा एक हजार सात सय जनाभन्दा बढीले सहभागिता जनाउने सुनिश्चित भइसकेको जनाएको छ ।