७ जेष्ठ २०८१, सोमबार

बुटवलमा अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको तयारी
  • लुम्बिनी खोज
  • २२ बैशाख २०८१, शनिबार १४:३१

 

 

बुटवल, २२ वैशाख
बुटवल उपमहानगरपालिका मातहतमा रहेको बुटवल नगर खेलकुद विकास समितिले अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
समानता, स्वाभिमान र अवसर भन्ने आदर्श वाक्य बोकेको बुटवल उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा विद्यालय तहमा अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, अन्तर विद्यालय स्तरीय मेयर कप छात्र नकआउट फुटबल प्रतियोगिता, अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता, क्लब स्तरीय विभिन्न विधाका खेलहरु राष्ट्रिय रूपमा पनि सञ्चालन गर्दै आएकोमा यही वैशाख २७ गतेबाट अन्तर पालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता संचालन गर्ने तयारी गरेको बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । बुटवल उपमहानगरपालिकाले अन्तरपालिका स्तरीय उपमेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा ११ वटा पालिकाको सहभागिता रहेको थियो । जसमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, बेनी नगरपालिका, भीमदत्त नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, टिकापुर नगरपालिका, गोदावरी नगरपालिका, बाडगङ्गा नगरपालिका,कोहलपुर नगरपालिका, नगरपालिका र कैलारी गाउँपालिकाको सहभागिता रहेकोमा बुटवल उपमहानगरपालिका प्रथम भई १ लाख ५० हजार, तिलोत्तमा नगरपालिका द्वितीय भएर ७५ हजार नगद, वेनी नगरपालिका तृतीय भएर ३५ हजार र भीमदत्त नगरपालिका सान्तवना भइ १५ हजार पुरस्कार प्राप्त गरेको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । प्रतियोगिता २०७८ मङ्सिर २३ देखि २६ सम्म नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.देवीनगरको भलिबल कोटमा खेल सञ्चालन भएको थियो ।
यस वर्ष पनि नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.मा खेल सञ्चालन हुनेछ । रुपन्देही जिल्लाका सबै पालिकाहरुलाई सहभागिताको लागि पत्राचार गरिसकेको समेत बुटवल नगर खेलकुद विकास समितिका संयोजक पियाले बताए ।