२०८१ आश्विन ३

बस ब्यवसायी प्रालिमा मजदुरहरुलाई प्रशिक्षण
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २५, शुक्रबार १२:१७ गते

बुटवल, २५ साउन ।
यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, अनुशासित बनाउनुका साथै सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले यातायात मजदुरहरुलाई पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले तालिम प्रदान गरेको छ । हरेक महिना चालक तथा सहचालकहरुलाई प्रदान गरिंदैं आएको सो तालिमबाट दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै यातायात मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन समेत सघाउ पुराउने बिश्वास गरिएको छ ।
कुल २ हजार २ सय २ सदस्य रहेको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले शुक्रबार गरेको तालिममा सवारी दुर्घटना न्यूनिकरण र ब्यबस्थापनबारे लामो दुरीका तथा रात्री बसहरु चलाउने २ सय जना चालक तथा सह चालकहरुलाई तालिम प्रदान गरिएको थियो । दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रशिक्षण कार्यक्रममा मानविय लापरवाही सवारी दुर्घटनाको प्रमुख कारण रहेको भन्दै ट्राफिक शिक्षा आवश्यक रहेकोमा जोड दिइएको छ ।
कार्यक्रममा प्रमुख प्रशिक्षक ट्राफिक प्रहरी निरिक्षक शोभा पाण्डेले सवारी दुर्घटनाका प्रमुख कारणहरुबारे अवगत गराउँदै न्यूनिकरणका उपायहरु बारे चर्चा गरिन् । सवारी दुर्घटना हुने मुख्य तिन कारणहरु मानविय कारण, यान्त्रीक कारण र भौगोलिक कारणबारे चर्चा गर्दै निरिक्षक पाण्डेले प्रमुख कारण मानविय लापरवाही नै रहेकोले यसको न्यूनिकरणमा यातायात मजदुहरुको भुमिका महत्वपुर्ण हुने कुरामा जोड दिइन् ।
यातायात मजदुरहरुलाई लक्षित गरि प्रदान गरिएको सो तालिममा सहभागिहरुलाई आत्मनिर्भर, स्वरोजगार र सभ्यता सम्पन्न बनाउने उद्देश्य रहेको दुर्घटना न्यूनिकरण कार्यक्रमका संयोजक नारायण घिमिरेले बताए । साथै सवारी धनीका साथै मजदुहरुको हकहित संरक्षण र आर्थिक सवलीकरणका लागि पनि नविनतम योजना संचालन गरिएको उल्लेख गर्दै संयोजक घिमिरेले चालकका परिवारहरुको पनि हित हुने नीति तथा कार्यक्रमहरु अवलम्बन गरिएको जानकारी दिए ।
दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापनका साथै मानविय सभ्यता कायम गर्ने हेतुले विगत लामो समयदेखि अभियान संचालन गर्दै आएको प्रा.लि.ले २०६६ सालदेखि निरन्तर रुपमा कार्यक्रमहरु संचालन गर्दै आएको छ । कार्यक्रममा अभियानका सहसंयोजक नारायण भण्डारी, नेपाल यातायात मजदुर संगठनका प्रदेश सदस्य मोहन केसी लगायतले यातायात मजदुरहरुले सवारी चलाउदा ध्यान दिनुपर्ने कुराका बारेमा चर्चा गरेका थिए । संचालकहरु गोपाल पौडेल, जितेन्द्र खत्री लगायतले दुर्घटना न्यूनिकरणका उपायहरु बारे चर्चा गरेका थिए ।