२०८१ आश्विन ३

लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक पारित
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ३१, सोमबार १२:२९ गते

बुटवल ३१ भदौ ।
लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको ३५ औं बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गरेको संसोधन गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो । बैठकका मन्त्री ढकालले पेश गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामुख तुलाराम घर्तीमगरले निर्णायार्थ पेश गरेका थिए ।
प्रदेश सभाको गत शुक्रवार बसेको बैठकमा पेश भएको संशोधन विधेकमा ५ वटा संशोधन परेका थिए । परेका संशोधनलाई शुक्रवारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।
समिती सभापति दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितीले दफावार छलफल पछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभाको सोमबार बसेको ३४ औं बैठकमा पेश गरिएको थियो।
२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गरेका थिए ।