२०८१ कार्तिक ६

मुस्ताङमा औपचारिक बौद्ध उच्च शिक्षाको माग
  • लुम्बिनी खोज
  • २०८१ आश्विन २१, सोमबार ०८:२८ गते

बौद्ध संस्कृति, सम्पदालाई पर्यटनसंग जोड्दै लैजानुपर्नेमा जोड

लुम्बिनी २१ असोज ।
मुस्ताङमा औपचारिक बौद्ध उच्च शिक्षाको माग गरिएको छ । गुम्बाहरुमा अनौपचारिक रुपमा बौद्ध शिक्षा सञ्चालनमा रहे पनि त्यसलाई मुलधारमा ल्याउनका लागि बौद्ध क्याम्पसको माग भएको लुम्बिनी बौद्ध विश्वविद्यालयल जनाएको छ । विश्वविद्यालयले गरेको कार्यक्रममा मुस्ताङका सरोकारवालाहरुले बौद्ध कलेज सञ्चालनका लागि मुस्ताङ तयार रहेको भन्दै विश्वविद्यालयले औपचारिक बौद्ध शिक्षाको सुरुआत गर्नुपर्ने माग गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले मुस्ताङको जोमसोममा गरेको मुस्ताङको बौद्ध सम्पदा र संस्कृतिको पर्यटन प्रवद्र्धन विषयक अन्र्तक्रियामा मुस्ताङका अगुवाहरुले बौद्ध सम्पदाहरुको अनुसन्धान, संरक्षण, उत्तखनन् तथा बौद्ध शिक्षामा विश्वविद्यालयले अग्रसरता लिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मुस्ताङ बौद्ध सम्पदाको अदभूत खानी रहेको भन्दै यसको उजागर गर्न आवश्यक रहेको धारणा राखे । बौद्ध सम्पदा र संस्कृतिको प्रवद्र्धनले दीगो पर्यटन विकास हुन उनले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले मुस्ताङका गुम्बाहरुमा रहेका बौद्ध ग्रन्थहरुको अध्ययन अनुसन्धान हुन नसकेको भन्दै विश्वविद्यालयले अनुसन्धानलाई अघि बढाउने योजना बनाइरहेको बताए । गुम्बा विहारहरुमा रहेका बौद्ध ग्रन्थलाई नेपालीसहितका भाषामा रुपान्तरण गरी यहाँको बौद्ध संस्कृति, कला तथा पुरातत्वलाई उजागर गर्न विश्वविद्यालयले प्रयास गरिरहेकाले स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि विशेष योजना बनाएर सहयोग गर्नुपर्ने बताए ।
बौद्ध विश्वविद्यालयले मुस्ताङमा अनुसन्धान केन्द्रका साथै उच्च शिक्षा सञ्चालन गर्न सक्ने भन्दै त्यसका लागि स्थानीय, प्रदेश सरकारले पहलकदमी गर्नुपर्ने उनले बताए । उच्च शिक्षा सञ्चालनका न्यूनतम पूर्वाधार तयार रहेको अवस्थामा विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्न सक्ने उनले प्रतिवद्धता जनाए । मुस्ताङका गुम्बाहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्नातक तहमा औपचारिक शिक्षामा जोड्न सकिने भन्दै त्यसका लागि सहजीकरण गर्न सरोकारवालालाई आग्रह गरे ।
बौद्ध दर्शन, कला, संस्कृतिको अध्ययन अनुसन्धान गर्नु विश्वविद्यालयको मुख्य लक्ष्य रहेको भन्दै उनले ओलांचुगोलादेखि टिंकरसम्मको हिमाली बौद्ध सम्प्रदायको अध्ययन अनुसन्धान गर्न विश्वविद्यालयले काम गर्ने बताए । विश्वविद्यालयको अनुसन्धान कार्यमा सरोकारवाला सबैको सहयोग हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य श्रीमाया थकालीले मुस्ताङी जनताकै संरक्षणमा बौद्ध संस्कृति र सम्पदा जीवित रहेको भन्दै यसको प्रवद्र्धन, अनुसन्धानमा विश्वविद्यालय तथा सरकारी निकायबाट विशेष योजना ल्याउनुपर्ने बताइन् ।
त्यस्तै संविधान सभाका सदस्य चन्द्र बहादुर गुरुङले मुस्ताङमा शताब्दिऔं पूरानो संस्कृति र सम्पदा रहेको भन्दै यसको उचित अनुसन्धान हुन नसकिरहेको बताए । उनले विश्वविद्यालयले बौद्ध शिक्षाका साथै अनुसन्धानमा काम गर्ने योजना ल्याउनुपर्ने बताए ।
बाह्रगाउँ गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्ग्याल गुरुङले मुस्ताङमा बौद्ध क्याम्पस स्थापना गर्ने प्रयास भए पनि सफल नभएकोमा चिन्ता व्यक्त गरे । उनले मुस्ताङको पर्यटन प्रवद्र्धनमा बौद्ध सम्पदालाई उजागर गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुस्ताङका स्थानीय सरोकारवाला, पर्यटनबिद्, बौद्ध विश्वविद्यालयका प्राध्यापकहरुलगायतको सहभागिता रहेको थियो ।