२०८१ कार्तिक २

टीकाको उत्तम साइत शनिबार बिहान ११.३६ मा
  • लुम्बिनी खोज
  • २०८१ आश्विन २४, बिहीबार १४:१२ गते

अष्टमी र नवमी एकै दिन
बुटवल ।
यस पटक बडा दशैंको टीकाको उत्तम साइत शनिबार बिहान ११.३६ मा रहेको छ । नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जन तथा दसैँको टीकाको साइत सार्वजनिक गर्दै आएका छन् । नेपालको समयअनुसार देवी विसर्जनको साइत शनिबार (२६ असोज) बिहान ८.३३ मा तथा टीकाको उत्तम साइत सोही दिन बिहान ११ .३६ मा छ ।
अष्टमी र नवमी एकै दिन
यसपटक अष्टमी र नवमी एकै दिन अर्थात् शुक्रबार परेकाले एकै दिन दुई देवीको पूजा गरिन्छ । महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको भएपनि आ–आफ्नो चलनअनुसार पूजा गर्न सकिने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका पदाधिकारीले जनाएका छन् ।
पाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जनको साइत शनिबार (२६ असोज) बिहान ८.३३ मा तथा टीकाको उत्तम साइत सोही दिन बिहान ११ .३६ मा रहेको जनाएको छ ।
घटस्थापनामा स्थापना गरेर नौ दिनसम्म पूजा गरेको कलशलाई विसर्जन गर्नु नै देवी विसर्जन हो । यसको अर्थ देवीलाई विधिवत् विसर्जन गर्ने र अर्को वर्ष पुनः आह्वान गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्ने हो । यसपछि टीका लगाइन्छ, उत्तम साइत ११.३६ मा भए पनि देवी विसर्जन गरिसकेपछि जुनसुकै समयमा टीका लगाउन मिल्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
टीका लगाउँदा कता फर्कने ?
ज्योतिष तथा वास्तुविद्का अनुसार टीका लगाइदिने व्यक्ति पश्चिम र टीका लगाउने व्यक्ति पूर्व फर्किनुपर्छ । टीका लगाइदिने व्यक्तिले देवी विसर्जन गर्दाको कलशको जलले टीका लगाउनेलाई अभिषेक गरेर साइतमा टीका र जमरा लगाउनुपर्ने  ज्योतिष तथा वास्तुविद्को भनाइ छ।
कुन देशमा कति बजे छ साइत ?
अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत कुन देशमा कति बजे छ भनेर पनि जानकारी दिएको छ । अधिकांश देशमा १२ अक्टोबर र केहीमा १३ अक्टोबरमा दसैँ पर्छ । १२ अक्टोबरमा भारतमा ११.४२ तथा अमेरिकाको न्युयोर्कमा १०.०१ र वासिङ्टन डिसीमा ९.५५ बजेट टीकाको साइत छ । त्यस्तै, पोर्चुगलको लिस्बनमा १०.२४, बेलायतको लन्डनमा १०.२१, फ्रान्सको पेरिसमा १०.२३ र नर्वेको ओस्लोमा १०.१९ बजे टीकाको साइत छ ।
सोही दिन स्विट्जरल्यान्डको जेनेभामा ११.५५, माल्टामा १०.४५, साउदी अरेबियामा ११.२३, सिंगापुरमा ११.४५, इजरायलको तेल अभिभमा ९.१६, मलेसियाको क्वालालम्पुरमा ११.५७ र युएईको अबुधाबीमा ११.४५ बजेको साइत छ । १२ अक्टोबरमै कतारको दोहामा ११.०५, थाइल्यान्डको बैंककमा ११.२१ र म्यान्मारको यांगुनमा ११.२१ बजे साइत तोकिएको छ ।
१३ अक्टोबरमा भने जापानको टोकियोमा ११.३५, अस्ट्रेलियाको सिड्नीमा ११.२१ र मेलबर्नमा ११.२७, हङकङमा ११.४३ बजे र दक्षिण कोरियाको सिओलमा ९.१५ बजे टीकाको उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले जनाएको छ ।