२०८१ मंसिर ७

लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जाने
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २०, मंगलवार ०७:३० गते

बुटवल २० कात्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए । सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो ।
सिचुआन प्रान्तमा समन्वय र विकासको बिषयमा छलफल गर्न (नोभेम्बर ११ देखी १३) कार्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुदैछ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य सहित प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री आचार्य सहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा जान लागेका छन् ।
यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको प्रदेश सरकारले जनाएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षिय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।
२०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो । कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।