२०८१ माघ ३

रोल्पामा झोलुङे पुल निर्माणका क्रममा पर्खाल भत्किँदा पाँचजनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ मंसिर १६, आईतवार १२:२७ गते

मुख्यमन्त्रीद्धारा दुःख व्यक्त
बुटवल १६ मंसिर ।
रोल्पामा झोलुङे पुलको रिटेनिङ वाल भत्किँदा पुरिएर पाँचजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सुनछहरी गाउँपालिका– ३, बाहिरी गामनिवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्नेक्रममा पुरिएर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ९ः५० बजेको समयमा पहिरोमा पुरिएको खबर आउनासाथ प्रहरी चौकी गामबाट ५ जनाको टोली र इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । चार जनाको पहिलो चरणमा र एक जनाको दोस्रो चरणमा शव निकालिएको थियो । एल.बी. एण्ड पल्भी जक्सन निर्माण सेवाले काम गरिरहेको उक्त स्थानमा ७ जना कामदार रहेकोमा दुई जना भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन् ।
मुख्यमन्त्री आचार्यद्धारा दुःख व्यक्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार रोल्पा जिल्लामा भएको दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । रोल्पामा झोलुंगे पुल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको घटनाले स्तब्ध तुल्याएको उल्लेख गर्दै मृतक प्रति श्रद्धाजली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
निर्माणको काममा व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम बढाउन मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् ।‘पुल निर्माणको काममा खटिएको बेलामा भएको घटनाले स्तब्ध र दुखी बनाएको छ’मुख्यन्त्रीले जारी गरेको श्रद्धाञ्जली व्यक्तत्वमा भनिएको छ,‘निर्माणको कामहरु गर्दा त्यहाँ खटिने श्रमिकहरुको सुरक्षा सुनिश्चित गरेर मात्रै अघि बढाउन अनुरोध गर्दछु ।’
रोल्पा सुनछहरी गाँउपालिका वडा नं.३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको लागी खाल्डो खनेर पर्खाल लगाउने काम चलिरहदा माथिबाट माटोको ढिस्को भत्किएर पुरिदा पाँच जनाको मृत्यु भएको थियो ।