२०८१ पुष ८
दाङ १९ मंसिर।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तरोन्नतीकालागि प्रदेश सरकारले पहल लिने बताएका छन् । खेलको आधारभूत संरचना निर्माण, प्रशिक्षण केन्द्र देखी समुदाय स्तरमा खेलाडी उत्पादन लगायतका कामलाई अघि बढाउन र खेल अवसरहरुको सृजना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसंग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बुधवार भएको भेटमा मुख्यमन्त्री आचार्यले क्रिकेट मैदान, प्रशिक्षण केन्द्र, खेल पूर्वाधारको विकास र स्तरोन्नतीका लागि प्रदेश सरकारले पहल लिने बताए ।‘क्रिकेट खेलको विकासकोलागि प्रदेश सरकारले आधारभुत संरचना विकासको लागि ध्यान दिन्छ’उनले भने,‘हाम्रो प्रदेशमा क्रिकेट खेल प्रति युवा खेलाडीहरुको बढ्दो आकर्षण र अवसरले सरकार पनि उत्साहीत छ । खेल क्षेत्रको विकास, खेलाडी उत्पादन र क्षमता विकासकालागी गर्नुपर्ने कामहरु अघि बढाउछौं ।’
विद्यालयतहमा क्रिकेट खेल प्रशिक्षण कार्यक्रमहरु चलाउने र युवा खेलाडी प्रतिभाहरुको खोजी गर्न जरुरी रहेको उनले बताए । मुख्यमन्त्री आचार्यले क्रिकेट खेल संगै अन्य खेल क्षेत्रको विकासको लागि पनि प्रदेश सरकारले समान रुपमा प्राथमिकता दिने, पूर्वाधार निर्माण गर्ने र खेल अवसरहरुको खोजी गर्ने बताए । अर्घाखाँची जिल्लामा माघ १ गतेदेखी पाँचौं अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगीता हुदैछ । यो प्रतियोगीता सम्वन्धमा क्रिकेट संघका अध्यक्ष भट्टराईले मुख्यमन्त्री आचार्यलाई जानकारी गराए । प्रतिनिधि मण्डलले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणराज गौतमलाई समेत भेट गर्दै खेल प्रतियोगीताको बारेमा जानकारी दिएको छ ।