२०८१ पुष २
बुटवल १ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताएका छन् । जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समिक्षा गर्नुपर्ने बताएका हुन् ।
नतिजा खस्कनुको पछाडीको कारण खोज्नुपर्ने, त्यसकालागि शिक्षा विज्ञहरुले भूमिका बढाउनुपर्ने र सुधारका विकल्पहरु अघि सार्न उनले आग्रह गरे । ‘लुम्बिनी प्रदेशको गत बर्षको एसइइको नतिजाले झस्काएको छ । त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ । यसकालागि निर्मम समिक्षा गरेर जानुपर्ने छ’उनले भने,‘गत बर्षको नतिजाले गम्भिर र चिन्तित बनाएको छ ।’ सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न परम्परागत कक्षाकोठालाई रुपान्तरण गरेर आधुनिक प्रविधिसंग जोड्न जरुरी रहेको धारणा पनि मुख्यमन्त्री आचार्यले राखे ।‘अव परम्परागत रुपमा सोंचेर हुदैन । हाम्रा शिक्षण विधि तथा क्रियाकलापलाई प्रविधि संग जोड्न जरुरी छ । कक्षाकोठाको रुपान्तरण पनि सोही अनुसार गर्न आवश्यक छ’उनले भने,‘अवको शिक्षालाई व्यवसायिक र प्राविधिक बनाउनुपर्छ । पढ्दापढ्दै स्वरोजगार हुनेगरी शिक्षा प्रणाली आजको आवश्यक हो ।’
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावकले निगरानी बढाउनुपर्ने समेत उनले बताए । ‘विद्यार्थी कितावमा भन्दा सामाजिक सञ्जालमा बढी भुल्न थाले । यसले शिक्षण सिकाईमा असर पारेको छ । विद्यार्थीलाई कितावमा रुची बढ्नेगरी सिकाईको वातावरण बनाउनुपर्छ । अभिभावकले आफ्ना छोराछोरीको आनिवानी र साथसंगतलाई अनुगमन गर्न जरुरी छ’उनले भने,‘के कारणले छोराछोरीको पढाई विग्रिरहेको छ ? यसको कारण अभिभावकले पनि खोज्न जरुरी छ ।’
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले पनि आफ्नो भूमिकाको आफै समिक्षा गर्नुपर्ने भनाई मुख्यमन्त्री आचार्यको छ ।आफु कार्यरत विद्यालयको नतिजा कस्तो छ ? किन यस्तो भयो भनेर समिक्षा गर्नुपर्नेमा जोड दिदै उनले भने,‘शिक्षक आफ्नो भूमिका र काम प्रति जिम्मेवार बन्न जरुरी छ ।’ विद्यालयमा पूर्ण शैक्षिक वातावरण निर्माणकालागि विद्यालय परिवारले भूमिका बढाउनुपर्ने, त्यसमा तीन तहका सरकारले साथ सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद भुसालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा विद्यालयको बार्षिकोत्सवको उद्घाटन गरिएको थियो ।