२०८१ पुष ७
बुटवल ४ पुस ।
बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा बिहिबार वित्तिय साक्षरता एवं उद्यमशिलता सम्बन्धि गोष्ठि गरिएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्ब गभर्नर डा. चिरञ्जिवी नेपालले देशको आर्थिक विकासका लागि आर्थिक नीति सहि हुनुपर्ने भन्दै आर्थिक नीति बनाउदा अल्पकालिन र दिर्घकालिन प्रभावको बारेमा सोचेर बनाउनुपर्नेमा जोड दिए
नेपालमा युवाहरुले के गर्न चाहन्छन र के गर्न सक्छन भन्ने भन्दा पनि आफुले गर्न चाहेको कुरा लाद्ने प्रवृत्ति रहेको भन्दै उनले त्यस्तो प्रवृत्ति त्यागेर देशमा के कस्ता सम्भावना छन् र कसले के गर्न सक्छ भन्ने कुराको आधारमा योजना अगाडी बढाउनुपर्ने धारणा राखे ।
सानिमा बैंकका पुर्ब प्रमुख कार्यकारी अधिकृत एवं वित्तीय साक्षरता नेपालका अध्यक्ष भुवन दाहालले बिगतमा बैंकको ब्याजदर महंगो भयो भनेर उद्योगि ब्यवसायीले ब्याजदर घटाउनुपर्ने माग गरेको स्मरण गर्दै अहिले ब्याजदर घटे पनि कर्जा प्रवाह हुन नसकेको बताए ।
बृद्धि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निरज खनालले सामसुङ, हुण्डाई र एलजी कम्पनीको सफलताकै कारण कोरिया धनि बनेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि विश्व बजारमा माग अनुसारको उत्पादन गर्नुपर्नेमा जोड दिए । उद्यमशील बन्न अन्तरआत्माबाटै केही गर्छु भन्ने भावना जागृत हुनुपर्ने बताउदै उनले ब्यापार गरेर केही प्रतिशत मुनाफा कमाउने कि विश्व बजारमा माग भइरहेका सामान उत्पादन गरेर बिदेशी मुद्रा आर्जन गर्ने भन्ने बिषय मुख्य भएको बताए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका पुर्ब कार्यकारी अधिकृत तथा साक्षरता नेपालका सचिब निरज गिरीले सेयर बजार, साक्षरता नेपालका बोर्ड सदस्य बर्षा श्रेष्ठले क्रेडिट रेटिङग तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख विज्ञानराज सुबेदीले बैंक तथा वित्तीय संस्थाको ब्यवस्थापन र राज्यको नीति बारे सहजिकरण गरेका थिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरका कारण कतिपय उद्योगि ब्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै नियमनकारी निकायले नियमन गर्नुपर्नेमा जोड दिए ।
संघका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराई, उद्योग उपाध्यक्ष सुरज भट्टराई, कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक बालकृष्ण पौडेल, सहभागि राजिब गौतमलगायतले कार्यक्रमका बारेमा धारणा राखेका थिए । औद्योगिक व्यापार मेलाका अवसरमा वित्तिय साक्षरता लगायतका विषयमा अन्तरक्रिया कार्यक्रमहरु राखिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला यहि पुसको १८ गतेसम्म चल्नेछ ।